images
images

नेपालमा कोरोना संक्रमण फैलिँदै, वागमती प्रदेशमा २५ संक्रमित थपिए

  • १४ चैत्र २०७९, मंगलवार १७:५१

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमतिको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच दिनको अवधिमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २४ जनामा संक्रमण पुष्टि भएको छ । हिजो एकैदिन ६९ जनामा संक्रमण पुष्टि भएकोमा सीमा नाकामा एन्टिजेन परीक्षणका क्रममा ४४ जनामा कोरोना देखिएको हो । यसबाहेक प्रयोगशालामा पीसीआर परीक्षण गरिएका मध्ये वागमती प्रदेशमा २५ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा गत जनवरी दोस्रो सातादेखि एक्सबीबी १.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो । बिज्ञहरुले यो ओमिक्रोनको सब भेरियन्ट रहेको बताउँदै आएका छन् ।

नेपालमा कुन भेरियन्टका कारण संक्रमण बढ्न थालेको भन्नेबारे परीक्षण गरिएको छैन । यद्यपि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संख्या संक्रमितको संख्या बढ्न थालेपछि जिनोम सिक्वेन्सिङमार्फत् भेरियन्ट पहिचान गर्ने प्रक्रिया अघि बढाईएको जनाएको छ । प्रयोगशालाका अनुसार त्यसका लागि वागमती प्रदेशसहित सबै प्रदेशबाट संक्रमण पुष्टि भएका नमुना संकलन कार्य भैरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबिरुद्धको बुस्टर डोज खोप लगाउन सबैलाई अपिल गर्दै आएको छ । मन्त्रालयले अहिले पहिलो र दोस्रो दुबै डोज खोप दिँदै छ । कोरोना संक्रण्म भएका व्यक्तिहरुले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ ।