भक्तपुर । पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष र सचिव जिउँदो व्यक्तिको मृत्युदर्ता गराइएको घटनामा पक्राउ परेका छन् ।
वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जना पक्राउ परेका हुन् । जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले बताएका छन् ।
अन्य व्यक्तिको खोजी तीव्र
पन्तका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ । के उद्देश्यका लागि ज्यूँदो व्यक्तिको मृत्यु दर्ता गरिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।यसअघि नै झुटा विवरण पेश गरी मृत्यु दर्ता गराउने मुख्य आरोपी नारायणी पारी सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका थिए ।
अनुसन्धानका क्रममा अन्सारीले सोही वडाका एक ६६ वर्षीय छिमेकीलाई आफ्नो बुवा भन्दै मृत्युदर्ताका लागि निवेदन दिएको खुलेको छ । तर, ती छिमेकी ज्यूँदै छन् । अन्सारीको बुवाको भने २०६० सालमै मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ ।
मिलेमतो देखियो
मृत्यु दर्ता गराउन वडाध्यक्ष र सचिवको समेत मिलेमतो देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । मृत्यु दर्ता गरिएका व्यक्तिका छोराले गत वर्ष चैत्र महिनामा प्रहरीमा जाहेरी दिएपछि यो प्रकरण बाहिर आएको हो ।
त्यसपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मृत्यु दर्ताको मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् । साक्षीका रूपमा हस्ताक्षर गर्ने अन्य सात जना भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।










