images
images

दोलखाका एकल महिला भन्छन्, ‘टुहुरा वालवालिका पढाउने जिम्मा सरकारले लिदियोस्’

दोलखा । श्रीमानको मृत्यु भएपछि समाजबाट पाएको तिरस्कारले दोलखाको तामाकोशी गाउँपालिकाकी गंगा काफ्लेलाई बाँच्नै मन लागेन ।

२९ बर्षको कलिलो उमेरमा श्रीमान् गुमाएकी तामाकोशी गाउँपालिकाकी काफ्लेलाई समाजबाट पाएको तिरस्कारले आत्महत्या गर्ने सोच समेत पलायो । १४ बर्षको कलिलो उमेरमा विवाह गरेकी गंगाले २९ वर्षमै श्रीमान गुमाईन् । कलिलै उमेरमा जिवनसाथी गुमाउनुको पिडा एकातिर छदै थियो अर्कोतिर २ छोरीको पालनापोषण, पढाई र लेखाईको जिम्मेवारी पनि उनको काँधमा थियो । जनयुद्धमा होमिएका उनका श्रीमान् कवि काफ्लेको २०६० साल मंसिर १६ गते युद्धकैक्रममा सोलुखुम्बुको तत्कालीन बाक्सा गाविसमा हत्या भएको थियो । ८ बर्ष र ३ बर्षका छोरीलाई छाडेर जनयुद्धमा होमिएका श्रीमानको मृत्यु भएपछि गंगाको कहालि लाग्दो जीवनयात्रा सुरु भयो । कहिँकतै आशा गर्ने ठाउँ नदेखेपछि उनलाई आत्महत्या गर्ने सोच समेत आएको थियो ।

दिन प्रतिदिन समाजको तिरस्कारलाई झेल्दै परिवारकै खुसीका लागि लड्दै गरेकी गंगा २०७४ सालको स्थानीय तहको निर्वाचनमा तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटवाट वडासदस्यमा निर्वाचित पनि भईन् । विगतको तुलनामा समाजमा केही परिवर्तन आएपनि समाज पुरै बदलिन नसकेको उनको भनाई छ । सरकारले एकल महिलालाई मासिक ४ हजार भत्ता दिँदै आएको छ । उनले सो रकम पीडितका लागि केही राहत भएपनि प्रर्याप्त नभएको बताईन् । एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ राज्यले सोच्नुपर्ने बेला आएको गंगाको सुझाव छ । बैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीकी डोल्मा तमाङले पनि विवाह भएको छोटो उमेरमा श्रीमान् गुमाइन् । २०४८ सालमा गैरीमुदीका मानबहादुर तमाङसँग विवाह बन्धनमा बाँधिएकी तमाङले पनि जनयुद्धमै आफ्नो श्रीमान गुमाएपछि परिवारसँगै बच्चाको जिम्मेवारी पनि उनमा आयो । एक छोरा र एक छोरीकी आमा डोल्मालाई एकल हुनुको पिडा त भोग्नु परिरहेकै थियो त्यसमाथि सन्तानको भविष्य, समाजको अपहेलनासँग लड्नु परिरहेको थियो । वर्षभरी खानपुग्ने गरी जग्गा जमिन छैन । सामाजिक सुरक्षा भत्ताले उधारो तिर्न समेत नपुग्ने उनको गुनासो छ ।

एकल महिलालाई राज्यले मासिक भत्ताको व्यवस्था गरे पनि त्यो पर्याप्त नभएको र सामाजिक सुरक्षाको बिषय प्रमुख चुनौती रहेको पीडितहरुको भनाई छ । एकल महिला भएकै कारण गिद्धे नजर लगाउने, अपहेलित हुनु पर्ने, कतिपय स्थानमा एकल महिलालाई बोक्सीको आरोप लगाएर दुव्र्यवहार गर्ने जस्ता घटना समाजमा घटिरहेका छन् । ’ पति विछोडको पिडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजवाट सान्त्वना, सहयोग, मायाको बदला दुव्र्यवहार खेप्नुपर्ने वातावरणले झन् जीवन कठिन भएको पीडीतहरुको भनाई छ । 

कालिञ्चोक गाउँपालिका ९ की देवी शिवाकोटी खत्रीको पिडा गंगा र डोल्माको भन्दा कम छैन । ३२ वर्षिया देवीको श्रीमानको मृत्यु भएको ४ वर्ष भयो । जिल्ला सदरमुकाम चरिकोटमा होटल व्यवसाय गर्दै आएका श्रीमानको मृत्युपछि दुई छोराछोरीको पालनपोषणको जिम्मेवारी देवीको काँधमा आइलाग्यो । श्रीमान कृष्णबहादुर केसीको हृदयघातका कारण मृत्यु भएपछि उनले आफ्ना छोराछोरीलाई पढाउनका लागि होटल व्यवसाय गर्दै आएकी छिन् । देवीका छोरा ९ वर्षका छन् भने छोरी ५ वर्षकी मात्रै छिन् । मनलाई भारी बनाउँदै देबी भन्छिन्, ‘छोराछोरीलाई गाँसबासको व्यवस्था मिलाउनुपर्ने दायित्व त छँदैछ, त्यहिँमाथि बिरामी हुँदा उपचार समेत गर्न नपाउँदा निकै मन पोल्छ । ’ पति विछोडको पिडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजवाट सान्त्वना, सहयोग, मायाको बदला दुव्र्यवहार खेप्नुपर्ने वातावरणले झन् जीवन कठिन भएको उनको दुखेसो छ ।

८ महिनाको गर्भवती हुँदा भीमेश्वर नगरपालिका वडा नम्बर ५ की गायत्री बस्नेतले श्रीमान रामशंकर बस्नेताई गुमाईन् । श्रीमानको अकालमै मृत्युपछि उनलाई बिहान बेलुकी हातमुख जोर्न समेत मुश्किल भयो ।जिल्ला हुलाकमा काम गर्दै आएका रामशंकरको मृत्युपछि गायत्रीले दैनिक घर व्यवहार चलाउन धेरै संघर्ष गरिन् । समाजमा एकल महिलाले भोग्नुपर्ने सबै कष्टहरु गायत्रीले भोगिन् । एकातिर आर्थिक स्थितीको कमजोर त अर्कातिर सामाजिक प्रहार । श्रीमान गुमाएपछि समाजको तिरस्कारका कारण एकल महिला भएर बाँच्नु भन्दा त मर्नु नै बेस लाग्यो, उनलाई । तर सन्तानका लागि जतिसुकै कष्ट भएपनि सहेर जीवन गुजार्दै आएको उनको भनाई छ । गायत्रीले दिनरात मजदुरी गरेर छोरालाई हुर्काइन । अहिले छोरो नेपाली सेनामा भर्ती भएपछि भने घर चलाउन उनलाई सहज छ । गायत्रीको राज्यसँग एउटै अनुरोध छ, ‘एकल महिलालाई हुने सामाजिक दुव्र्यवहार र हेलाको दृष्टिकोणमा परिवर्तन आउनु पर्यो । टुहुरा वालवालिकाको शिक्षादिक्षाको जिम्मा राज्यले लिनु पर्छ ।’

एकल महिलालाई राज्यले मासिक भत्ताको व्यवस्था गरे पनि त्यो पर्याप्त नभएको र सामाजिक सुरक्षाको बिषय प्रमुख चुनौती रहेको पीडितहरुको भनाई छ । एकल महिला भएकै कारण गिद्धे नजर लगाउने, अपहेलित हुनु पर्ने, कतिपय स्थानमा एकल महिलालाई बोक्सीको आरोप लगाएर दुव्र्यवहार गर्ने जस्ता घटना समाजमा घटिरहेका छन् । एकल महिला गंगा काफ्लेको भोगाईमा एकल महिलाको आर्थिक संकटको व्यवस्थापन र सामाजिक सुरक्षाको बिषय नैं प्रमुख चुनौती हो । ‘अन्यायमा परेका एकल महिलाको संरक्षण सरकारले गर्नु पर्छ,’ गंगा भन्छिन्, ‘सामाजिक सुरक्षा भत्ताले मात्र केही हुन्न ।’

दोलखाका एकल महिलाहरुले घरेलु उद्यम तथा आयआर्जका काम गर्नकालागि सरकारले सहुलियत कर्जाको व्यवस्था गर्नु पर्ने माग पनि अघि सारेका छन् । एकल महिलालाई स्वरोजगार बनाउनका लागि सरकारले ‘एकल महिला कोष’ बनाएर सहुलितयमा कर्जा दिनु पर्ने उनीहरुको माग छ । खासगरी कलिलै उमेरमा श्रीमान गुमाएका एकल महिलाहरु स्वरोजगार हुन चाहन्छन् । गाउँघरमै घरेलु उद्यम गर्न सके त्यसवाट कमाएको पैसाले घरव्यवहार चलाउन सहज हुने उनीहरुको भनाई छ ।स्थानीय तहको निर्वाचनमा एकल महिलाको मतलाई सवैभन्दा बढी प्रभावित पार्न खोजिए पनि चुनाव जितेपछि जनप्रतिनिधिले एकल महिलाका समस्या र पीडालाई बिर्सिने गरेको उनीहरुको दुखेसो छ । 

कालिन्चोककी एकल महिला देवी शिवाकोटीलाई स्थानीय सरकारले एकल महिलाका लागि ठोस कार्यक्रम नल्याएकोमा गुनासो छ । स्थानीय तहको निर्वाचनमा एकल महिलाको मतलाई सवैभन्दा बढी प्रभावित पार्न खोजिए पनि चुनाव जितेपछि जनप्रतिनिधिले एकल महिलाका समस्या र पीडालाई बिर्सिने गरेको उनको गुनासो छ । कम्तिमा टुहुरा वालवालिकाको शिक्षा र स्वास्थ्य उपचारमा स्थानीय सरकारले सहयोग गरे एकल महिलालाई जीवन गुर्जान सहज हुने उनको भनाई छ । कतिपय एकल महिलालाई श्रीमानको मृत्युपछि पैतृक सम्पतीको उपभोग गर्न समेत समस्या परिरहेको छ । दोलखामा पनि यस्ता थुप्रै घटनाहरु छन् । श्रीमानको मृत्युपछि आफ्नै घरपरिवारका सदस्य र अंसियारहरुले पैतृक सम्पति उपभोगमा बाधा व्यवधान खडा गरेपछि कतिपय एकल महिला माईतिको साहारमा बाँचिरहेका उदाहरण पनि छन् ।

खासगरी कलिलै उमेरमा श्रीमान गुमाएका एकल महिलाहरु स्वरोजगार हुन चाहन्छन् । गाउँघरमै घरेलु उद्यम गर्न सके त्यसवाट कमाएको पैसाले घरव्यवहार चलाउन सहज हुने उनीहरुको भनाई छ । कलिलै उमेरमा श्रीमान् गुमाएकी गौरीशंकर गाउँपालिका वडा नम्बर १ की जसि माया जिरेल भन्छिन्, ‘प्रदेश सरकार र स्थानीय सरकारले हामीलाई सिप सिकाउनु पर्यो । हामी आफ्नै मेहेनेतले उद्यम गरेर जीवीकोपार्जन गर्न चाहन्छौं ।’ स्थानीय सरकारले पालिकाभित्रका एकल महिलाहरुको पहिचान गरेर एकल महिलाहरुलाई संगठित गर्ने र उनीहरुको समस्याको सम्बोधनकालागि पालिकामा ‘एकल महिला सेल’ खडा गरेर काम गर्नु पर्ने महिला अधिकारकर्मी रिता रिमाल बताउनुहुन्छ ।

दोलखाका एकल महिलाहरुले घरेलु उद्यम तथा आयआर्जका काम गर्नकालागि सरकारले सहुलियत कर्जाको व्यवस्था गर्नु पर्ने माग पनि अघि सारेका छन् । एकल महिलालाई स्वरोजगार बनाउनका लागि सरकारले ‘एकल महिला कोष’ बनाएर सहुलितयमा कर्जा दिनु पर्ने उनीहरुको माग छ । जिरी नगरपालिकाकी शान्तीमाया जिरेल भन्छिन्, ‘हामीले साहुकोमा जाँदा पनि ऋण पाउँदैनौं । एकल महिला भएकै कारण सहकारी र वैंकले पनि ऋण पत्याउँदैनन् ।’ घरेलु उद्यम, आधुनिक तरिकाले कृषि र पशुपालन गर्ने एकल महिलालाई सहुलियतको ऋण र अनुदानका कार्यक्रम आए धेरै राहत हुने उनीहरुको भनाई छ ।

आवरण तस्विरः एकल महिला गंगा काफ्लेलाई सम्मान गर्दै पूर्व राज्यमन्त्री देवि खड्का ।