images
images

बागमती प्रदेशले गौरीशंकर र गोकुलगंगा सहित १० पालिकाको विपद् कोषमा एक करोड जम्मा गर्ने

  • १४ जेष्ठ २०८०, आईतवार १२:५७

हेटौँडा । बागमती प्रदेश सरकारले १० स्थानीय तहको विपद् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषदको बैठकले दोलखाको गौरीशंकर गाउँपालिका र रामेछापको गोकुलगंगा गाउँपालिका सहित १० स्थानीय तहको विपद कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । जसमा एक पालिकाले १० लाख पाउनेछ । जसअनुसार दोलखाको गौरीशंकर गाउँपालिका र रामेछापको गोकुलगंगा गाउँपालिका तथा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई १०/१० लाख रुपैयाँ उपलब्ध गराइने आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, बैठकले सिन्धुली अस्पतालको भौतिक पुर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्रिपरिषद बैठकले जिल्ला ट्राफिक कार्यालय रामेछाप, प्रहरी चौकी खाङसाङ फिक्कल सिन्धुली, प्रहरी चौकी रत्ननगर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा महिला व्यारेक भवन, र इलाका प्रहरी कार्यालय मकवानपुरगढीको भवन निर्माणका लागि खर्चको अख्तियारी दिने निर्णय समेत गरेको छ ।