images
images

गणतन्त्र दिवसमा बागमती प्रदेशका ७ पत्रकार पुरस्कृत, गोलेलाई ‘प्रदेश पत्रकारिता पुरस्कार’

हेटौंडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसका अवसरमा प्रदेशका ७ जना पत्रकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

बागमती प्रदेश सरकारले गणतन्त्र दिवस–२०८१ को अवसरमा पारेर प्रदेशका ७ जना पत्रकारलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिवप्रसाद देवकोटा, दोलखास्थित जिरी एफएमका स्टेशन मेनेजर एवँ हाम्रो अपडेट अनलाईनका सह–सम्पादक सिर्जना गोलेसहित ७ जना पत्रकार छन् ।

देवकोटालाई संस्थागत पत्रकारिता पुरस्कार, गोलेलाई बागमती पत्रकारिता पुरस्कार, चितनवनका पत्रकार इश्वरकुमार जोशीलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार, काठमाडौंका पत्रकार राजकुमार सिग्देललाई प्रदेश युवा पत्रकारिता पुरस्कार, मकवानपुरकी सरिता दाहाललाई प्रदेश गौरव पत्रकारिता पुरस्कार, सिन्धुलीका बुद्ध नेपालीलाई ग्रामिण पत्रकारिता पुरस्कार र रसुवाका हरि गजुरेललाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश सरकारले प्रदान गरेको बिधागत पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

 

पुरस्कृत पत्रकारहरुलाई बागमती प्रदेश सरकारका प्रमुख यादव चन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले प्रदेशमा पुरस्कृत गर्न योग्य धेरै पत्रकार भए पनि पत्रकारितामा क्रियाशिलता र निरन्तरता, भौगोलिक, लैंगिक र जातिगत सन्तुलन मिलाएर ७ जना पत्रकारलाई पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त समारोहमा विविध सम्मान तथा पुरस्कार वितरण गर्नुका साथौ शुभकामना आदान प्रदान गरिएको थियो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख शर्मा प्रमुख अतिथि र पूर्व मुख्यमन्त्री डोरमणि पौडेला विशेष अतिथिकोरुपमा सहभागी हुनुहुन्थ्यो ।