images
images

एसईईमा ननग्रेड ल्याउने सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

  • १४ असार २०८१, शुक्रबार १८:४८

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा दुई भन्दा बढि विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थी पनि ग्रेड वृद्धि परीक्षामा सहभागि हुन पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा दुई भन्दा बढि विषयमा एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागि गराउने निर्णय गरेको हो । यसअघि दुई विषयमा एनजी आउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागि हुन दिने व्यवस्था गर्ने निर्णय गर्नुभएको हो । मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागि गराउन निर्देशिका संशोधन गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्ने प्रक्रिया अघि बढाउन पाठ्यक्रम विकास केन्द्र तथा परीक्षा सञ्चालन व्यवस्थापन गर्न परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको छ । सोही अनुसार सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहालले जानकारी दिनुभयो ।

एसईईको हिजो सार्वजनिक नतिजा अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी ननग्रेड एनजीमा परेका थिए । यो संख्या परीक्षामा सहभागि ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२ दशमलव १४ प्रतिशत हो । बोर्डले हिजो नतिजा सार्वजनिक गर्दै दुई विषयमा ननग्रेड आएका विद्यार्थीले आगामी साउन १८ र १९ गते मौका परीक्षा दिन पाउने बताएको थियो ।