सिन्धुपाल्चोक । पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले उत्तरी सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो २४ घण्टामा १ सय ४१ दशमलव ४ मिलिमिटर वर्षा भएको जनाएको हो । विभागका अनुसार ढुंगेमा १ सय २० दशमलव ८, तारामाराङमा ८२ दशमलव ८ र बोल्देमा ७५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यसैगरी जिल्लाको घुम्थाङमा ९३ दशमलव ३ मिलिमिटर वर्षा भएको विभागको भनाई छ ।
यसैबीच, आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने बताउनुभयो । महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
आगामी २४ घण्टामा लुम्बिनी प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।