काठमाडौँ । नेपाल खूद विद्युत्त निर्यातकर्ता मुलुक बनेको छ ।
यसअघि खुद आयातकर्ता मात्रै रहेको नेपाल गत आर्थिक वर्षबाट खुद निर्यातकर्ता बनेको हो । नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत विक्रि गरेको छ। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारत निर्यात गरेको हो । विद्युत निर्यातबाट १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरि अतिरिक्त भएको विद्युत भारतीय उर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाईम मार्केटमा प्रतिस्पर्धी दरमा मध्यकालिन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि– एनभिभिएनलाई विक्रि गरिरहेको छ । निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा रहेको छ ।
प्राधिकरणले एक वर्षमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत आयात गरेको छ । हिउँदयाममा आयात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ १७ पैसा छ । गत आर्थिक वर्ष आयात भन्दा १२ करोड २३ लाख रुपैयाँ बढि विद्युत भारत निर्यात भएको छ । उर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत निर्यात भएको हो । आयातभन्दा निर्यात गरिएको परिमाण बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमै नेपाल विद्युतको खुद निर्यातकर्ता बनेको छ ।
आगमी केही समय हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत आयात गर्नुपरेपनि निर्यातको परिमाण अझै बढ्दै जाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ६/७ वर्ष अघिसम्म विद्युत आयातकर्ताको रुपमा मात्रै रहेको नेपाल गत आर्थिक वर्षबाट खुद निर्यातकर्ता बन्नु नेपालको उर्जा क्षेत्रका लागि महत्वपुर्ण उपलब्धी भएको उहाँको भनाई छ ।
नेपालले हाल मिडियम टर्म, डे अहेड र रियल टाईम मार्केटमा दैनिक करिब ७ सय मेगावट विद्युत भारतमा विक्रि गरिरहेको छ ।