images
images

आज देशभर वर्षाः रामेछाप र सिन्धुपाल्चोक सहितका साना नदीमा बाढीको जोखिम

  • १२ भाद्र २०७९, आईतवार ०८:२५

आज दोलखा सहित देशभर बर्षा भइरहेको छ ।

गएरातिदेखि नै देशका धेरै स्थानमा पानी परिरहेको हो । आज दिनभरि वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने छ । पछिल्लो ३ घण्टामा सोलुखुम्बु, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, अर्घाखाँची, दाङ, सुनसरी, सप्तरी, ठूलो वर्षा भएको छ । अबको एक÷दुई दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम रहेकाले नदी छेउछाउ तथा भिरालो जमिनमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यस्तै, सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ । निरन्तर पानी परेकाले त्यस क्षेत्र भएर बहने स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै, भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

आज रामेछाप, नवलपरासी, तनहुँ, गुल्मी, धनकुटा, सप्तरी र आसपास भइ बहने स–साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । यस्तै, बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक बन्द भएको छ ।