दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोमा पुरिएर एक वृद्ध गम्भीर घाइते भएका छन् ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ७ समताका ८८ वर्षिय जित बहादुर भुजेल पहिरोमा पुरिएर गम्भीर घाइते भएका हुन् । लगातारको वर्षासँगै घर माथिबाट पहिरो खस्दा भुजेल गम्भीर घाइते भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो । गम्भीर घाइते उनलाई सिंगटीस्थित विगु अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । पहिरोले भुलेजका ७ वटा बाख्रा र ९ वटा कुखुरा पनि पुरिएको छ ।
घरमा एक्लै बस्दै आएका उनलाई शुक्रवार राति नै पहिरोले पुरेको थियो । शनिवार विहान स्थानीयले उनलाई पुरिएको स्थानबाट उद्धार गरी उपचारका लागि अस्पतालमा ल्याएको र प्रहरीले हिजो दिउँसो अवेर गरी मात्रै जानकारी प्राप्त भएको दोलखा प्रहरीले जनाएको छ । घटना शुक्रबारकै भएपनि प्रहरीले आज मात्रै जानकारी गराएको छ ।












