images
images

हिमाल दोलखा हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्राप्त

  • १२ भाद्र २०७९, आईतवार १७:०७

जिरी (दोलखा) । हिमाल दोलखा हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएको छ ।

विद्युत नियमन आयोगले हिमाल दोलखालाई हकप्रद शेयर निष्कासन गर्न शुक्रबार पूर्व स्वीकृति दिएको हो ।जलविद्युत कम्पनीले हकपद जारी गर्ने निर्णय गर्दा नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति लिएर मात्र साधारण सभाबाट अनुमोदन गराउनुपर्ने हुन्छ । विद्युत नियमन आयोगको अनुमति नै नलिई गत साउन १५ गते सेयर निष्कासन गर्ने सूचना प्रकाशन गरेपछि नेप्सेले कम्पनीलाई कारवार्ही गर्दै दोस्रो बजारको शेयर कारोबार नै रोक्का गरेको थियो । कानुनी व्यवस्था उलङ्घन गरेर हकप्रद सेयर निष्कासन गर्न लागेको भन्दै नेप्सेले दोस्रो बजारको शेयर कारोबार बन्द गरेपछि कम्पनीले स्पष्टीकरण सहित माफी मागेपछि शेयर कारोबार फुकुवा गरिएको थियो ।

तर, अहिले आयोगले अनुमति दिएसँगै कम्पनीको एकै पटक हुन लागेको १३ औं र १४ औं वार्षिक साधारण सभाबाट हकप्रद शेयर निष्कासन पारित हुनेछ । यो सँगै हिमाल दोलखा हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यस अघि भदौ ३ गतेका लागि आव्ह्वान गरेको सभा कोरम नपुगेपछि स्थगित भएको थियो । त्यसपछि फेरी १९ गतेका लागि बोलाइएको छ । गत साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा लिसारा ब्यांकेट हल, नक्साल, काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा गर्नका लागि कम्पनीले साउन २६ गतेनै बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।