काठमाडौं । नेकपा एकीकृत समाजवादीले निर्वाचनबाट १८ जना पदाधिकारी चयन गरेको छ ।
सहमतिको प्रयास असफलपछि हिजो एकीकृत समाजवादीले निर्वाचन गरी पदाधिकारी चयन गरेको हो । निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । जसअनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे हिजो नै सर्वसहमत चुनिएका थिए ।
यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए । खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चार उपमहासचिव पदमा १९ जना जना प्रतिस्पर्धी थिए ।
यसैगरी, सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् । ७ जना सचिव पदको लागि २६ जनाको उम्मेदवारी परेको थियो ।