दोलखा । अविरल बर्षासँगै दोलखा सदरमुकाम चरिकोटमा पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका–६ स्थित मैदानेका ४१ वर्षीय राजकुमार भुजेल, उनकी श्रीमती ३७ वर्षीया राधिका भुजेल र १५ वर्षीया छोरा सुजन भुजेलको मृत्यु भएको हो । सुरक्षाकर्मी र स्थानीयले मृतक राजकुमार र राधिकाको शव घटनास्थलवाट निकालेको र घाइते अवस्थामा उद्धार गरी उपचारकालागि पठाइएका सुजनको वीच बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका ३ बर्षका बालक युवराज भुजेललाई भने सुरक्षाकर्मी र स्थानीयले सकुशल उद्धार गरेका छन् । उनको अवस्था खतरामुक्त रहेको दोलखा प्रहरीले जनाएको छ । अविरल बर्षापछि स–परिवार घरमा बसिरहेका बेला आज दिउँसो घरमाथिवाट पहिरो खसेको हो ।
आज दिउँसो करिव १ बजे पहिरोले घर भत्किएपछि बुबाआमा र दुई छोरा एकैसाथ पुरिएका थिए ।