काठमाडौँ । काभ्रेपलाञ्चोकमा अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि १० जनाको मृत्यु भएको छ भने १३ जना वेपत्ता भएका छन् ।
जिल्लामा आज दिउँसोसम्म बाढी पहिरोमा परेर १० जनाको मृत्यु भएको हो । महिला, पुरुष र बालक ३/३ जना तथा १ बालिका गरि १० जनाको मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । बाढी पहिरोबाट १६ जना घाईते भएका छन् भने १३ जना वेपत्ता भएका छन् । वेपत्ताहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काभ्रेको धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध नगरपालिका, तेमाल, बेथानचोक र भुम्लु गाउँपालिकामा सो क्षति भएको हो ।
यस्तै, काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ स्थित बागमती खोलामा आएको बाढीले ८ घर बगाएको छ । जिल्लाको डाँडापारिस्थित खानीखोलामा बागमती खोला किनार नजिक रहेका घरहरुमा बाढीले क्षति गरेको छ । बाढीले घर बगाएपनि सञ्चार सम्पर्क नहुँदा क्षतिको विवरण भने एकिन हुन सकेको छैन । वर्षाका कारण अधिकांश क्षेत्रमा सञ्चार सम्पर्क विहिन भएकाले क्षतिको विवरण यकिन हुन नसकेको गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा १३ को मृत्यु
बाढी–पहिरोका कारण सिन्धुपाल्चोक जिल्लामा पनि कम्तिमा एक दर्जन बढीको मृत्यु भएको छ ।
माथिवाट खसेको पहिरोले सुनकोशी गाउँपालिका–४ भैंसेमा रहेको सिन्धु बिच रिर्सोट पुरिदा त्याहाँ रहेका दुई कोरियन पर्यटक , एक जना नेपाली गाइड र अन्य एक सहित ४ जनाको मृत्यु भएको छ । उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । रिर्सोटमा रहेका अन्य पर्यटक र कामदारलाई उद्धार गरिएको छ ।
यस्तै, पहिरोमा पुरिएर लिसंखुपाखर गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखुपाखर गाउँपालिका–३ आलोङ ग्रुङम्राङकी शिक्षिका तिर्सना मोक्तान र उनका २ छोराछोरीको मृत्यु भएको हो । गयरातिको पहिरोमा पुरिएर लिसंखु पाखर गाउँपालिका–३ का पूर्व वडाध्यक्ष काजीवहादुर लामा र उनकी श्रीमतीको पनि मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पनि बाढि पहिरोवाट ४ जनाको मृत्यु भएको खवर छ ।