दोलखा । लगातारको वर्षासँगै मिल्ती खोलामा आएको बाढीले विद्युत पोलमा क्षति पु¥याएपछि दोलखामा विद्युत अवरुद्ध भएको छ ।
लामोसाँघु–मकैबारी ३३ केभी प्रसारण लाईन अन्र्तगत मेलुङ गाउँपालिकास्थित मिल्तीमा ३ वटा विद्युत पोलमा क्षति पुगेपछि जिल्लाभर विद्युत अवरुद्ध भएको हो । लगातार वर्षा भईरहेकाले तत्काल प्राविधिक टोली गएर मर्मत गर्न सम्भव नभएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार तत्काल पोल मर्मत सम्भव नभएपछि चरिकोट आसपासमा सिंगटीको विद्युत जोड्ने प्रयास भईरहेको छ । सिंगटीको विद्युत जोडेपछि लामोसाँघु–मकैबारी ३३ केभी प्रसारण लाईन अन्र्तगत सञ्चालन हुने क्षेत्रमा विद्युत सुचारु हुनेछ । बिहानैदेखि विद्युत अवरुद्ध हुँदा दोलखाको जनजीवन प्रभावित भएको छ । बिद्युत नभएका कारण दोलखाका रेडियोका प्रसारण समेत बन्द भएको छ ।
जिल्लाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिका क्षेत्रमा भने तीन दिनदेखि विद्युत अवरुद्ध छ । सो क्षेत्रमा विहिबार रातिदेखि नै अवरुद्ध भएको विद्युत हिजो साँझ केहीबेर सञ्चालन भएपनि पुनः अवरुद्ध भएको विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ ।