जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा जिरी च्याम्पियनसिप खेलकुद प्रतियोगिता २०८० हुने भएको छ ।
जिरी नगरपालिका र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा यही कात्तिक १५ गतेदेखि कात्तिक १८ गतेसम्म जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल हुने भएको हो । प्रतियोगितामा बागमती प्रदेशस्तरीय अन्तर पालिका खुला भलिबल प्रतियोगिता, जिरी भ्याली माउन्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस प्रतियोगिता र स्थानीय खेलहरु हुने युवा सञ्जाल जिरीले जनाएको छ । जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल अन्तर्गत जिरीमा हुन लागेको सर्वाधिक राशिको खुला भलिबल प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ५१ हजार रहेको छ भने दोश्रो, तेश्रो र सान्तवना पुरस्कार क्रमश १ लाख १ हजार, ५१ हजार र २५ हजार रुपैयाँ रहेको छ । यस्तै, अल्ट्रा म्याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले १० हजार, ७ हजार, ५ हजार पुरस्कार पाउने छन् । बाइक रेसका बिजेताहरुलाई पनि ७ हजार, ५ हजार र ३ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
जिरी नगरपालिका–५ स्थित जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा भलिबल प्रतियोगिता हुनेछ भने अल्ट्रा म्याराथन दौड जिरी माउन्टेन भ्याली सर्किटमा हुनेछ । बाइक रेस लिंकन बजारको सडक र स्थानीय खेल जिरी प्राविधिक शिक्षालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ । आयोजक युवा सञ्जाल जिरीका अध्यक्ष जगदिश खड्काले जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबलको सम्पूर्ण तयारी पुरा भएको र कात्तिक १४ गते वेलुकीसम्म टिम दर्ताको समय रहेको जानकारी दिनुभयो । अध्यक्ष खड्काका अनुसार प्रतियोगितामा १७ लाख १६ हजार खर्च लाग्ने अनुमान गरिएको छ । युवा सञ्जाल जिरीले जिरीको पर्यटन तथा खेलकुदको विकासका लागि प्रतियोगिताको आयोजना गरेको भन्दै विभिन्न संघसंस्था, रोजगारीका लागि देश विदेशमा रहेका इच्छुक व्यक्तिहरुबाट आर्थिक सहयोगको अपिल गरेको छ ।