images
images

कालिञ्चोक दर्शन लिमिटेडले बुधबारदेखि आईपीओ निष्काशन गर्ने

  • १२ मंसिर २०७९, सोमबार १०:४९

जिरी (दोलखा) । कालिञ्चोक दर्शन लिमिटेडले बुधबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर १४ गते बुधबारदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय र जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणको लागि निष्कासन गर्दैछ । निष्कासनको १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । मंसिर २८ गतेभित्र कम्पनीको आईपीओका लागि आवेदन दिनु पर्नेछ । पूर्ण आवेदन नपरेमा भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखामा तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले कालिञ्चोक दर्शन लिमिटेडलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न अनुमति दिएको थियो । यो कम्पनीले कालिञ्चोक भगवतीको मन्दिरसम्म पुग्न केवलकार निर्माण गरी २ वर्षअघिदेखि नै सञ्चालनमा ल्याइसकेको छ ।