images
images

धितोपत्र बोर्डद्धारा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडसहित ८८ कम्पनीलाई कारबाही

  • १२ मंसिर २०८०, मंगलवार १८:४४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै वित्तिय विवरण नबुझाउने दोलखाको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडसहित ८८ कम्पनीलाई कारबाही गरेको छ ।

बोर्डले चालु आर्थिक वर्षको चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही गरेको हो । बोर्डको इतिहासमै पहिलो पटक धेरै सूचीकृत कम्पनीलाई कारबाही भएको हो । बोर्डले ढिलो विवरण बुझाउने वा नबुझाउने कम्पनीहरुलाई १५ दिनभित्र जवाफ पेश गर्न भनेको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम १ बमोजिम कारबाहीमा परेका ती कम्पनीहरुलार्ई जरिवाना तिराइएको छ । बोर्डले वित्तिय विवरण ढिलो बुझाउनेलार्ई प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले र वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराएको हो ।

बोर्डका अध्यक्ष रमेश हमालले कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएको बताउनुभएको छ । उहाँका अनुसार अब १ दिन पनि ढिला वित्तीय विवरण बुझाउनेलाई कारबाही गर्नेगरी सिस्टम बनाइएको छ । वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश माइक्रोफाइनान्स र जलविद्युत कम्पनी रहेका छन् ।