images
images

गौरीशंकरको उपनिर्वाचनः माओवादी र एमाले वीच मुख्य प्रतिश्पर्धा, यस्तो छ भित्री तयारी

मंसिर १६ गते हुने उपनिर्वाचनले यतिखेर माहौल तातिएको छ । यो उपनिर्वाचनमा काठमाडौंको किर्तिपुरको जति चर्चा छ, दोलखाको गौरीशंकर गाउँपालिकाको चर्चा पनि त्यो भन्दा कम छैन । उपाध्यक्ष पदकालागि हुने उपनिर्वाचनले दोलखाको राजनीतिक माहौल गरमागरम बनेको छ ।

दोलखाका राजनीतिक दलका नेताहरुको गृह पालिका भएका कारण पनि गौरीशंकरको निर्वाचनलाई चासोपूर्वक हेरिएको छ । धेरै वटा जलबिद्युत आयोजना र प्राकृतिक श्रोत, साधनले धनी पालिका भएका कारण पनि गौरीशंकरमा हुने निर्वाचन सँधै पेचिलो बन्ने गरेको छ ।

नेताहरुको प्रतिष्ठाको लडाईँ

एमाले पोलिट्व्युरो सदस्य एवँ पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवँ दोलखावाट प्रतिनिधिसभामा प्रतक्ष्य निर्वाचित सांसद गंगा कार्की, नेतृ एवँ पूर्व राज्यमन्त्री देवी खड्का र माओवादी केन्द्रका युवा नेता एवँ बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्का गौरीशंकर गाउँपालिकाका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेस दोलखाका पूर्व सभापति रुद्रवहादुर खड्काको घर पनि गौरीशंकर गाउँपालिका नैं हो ।

जिल्ला र केन्द्रसम्म सिधै राजनीतिक पहुँच राख्न सक्ने नेताहरुको गृह गाउँ भएका कारण पनि गौरीशंकरको निर्वाचन पेचिलो हुने गरेको छ । दलका नेताहरु वीच राजनीतिक प्रतिष्ठाको लडाई छ । यो पालिकामा एमाले र माओवादी केन्द्र वीच सँधै टकराव हुँदै आएको छ ।

दलबलसहित केन्द्रीय नेताहरु फिल्डमा

उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्नकालागि दोलखाका सवै राजनीतिक दलका उम्मेदवार फिल्डमा उत्रिएका छन् । एमाले नेता गुरुङ र माओवादी नेता खड्का मनोनयन दर्तादेखि फिल्डमै बसेर चुनावी कमाण्डको नेतृत्व गरिरहेका छन् भने कांग्रेस केन्द्रीय सदस्य एवँ बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले पनि लगातार मैदानमै छन् ।

उपनिर्वाचनमा ७ राजनीतिक दल र ९ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । १६ जना उम्मेदवार मैदानमा भएपनि प्रतिश्पर्धा प्रमुख ३ दलका उम्मेदवार वीच हुँदैछ । गौरीशंकर गाउँपालिकामा सत्ता पक्ष रहेको नेकपा माओवादी केन्द्रले महिला स्वास्थ्य स्वयंसेविका एवँ सामाजिक कार्यकर्ता निम लेकी शेर्पा, नेकपा एमालेले उमा लुङ्गेली मगर शेर्पा र नेपाली कांग्रेसले पासदिकी शेर्पालाई उम्मेदवार बनाएको छ ।

गाउँमै बसेर महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक मेलमिलापकर्ताको भूमिकामा रहेकी चिरपरिचति अनुहार निम लेकीलाई मैदानमा उतारे पछि माओवादी केन्द्र उत्साहित छ । निम लेकी राजनीति र सामाजिक कार्यमा सक्रिय अनुहार भएका कारण उनको पक्षमा माहौल बलियो बनेको छ । एमालेले भने व्यवसायीक र नेतृत्वदायी क्षमता भएको भन्दै उमालाई मैदानमा उतारेको हो । निर्माण व्यवसायीकी श्रीमती उमा काठमाडौं बसेर व्यवसाय गर्ने गरे पनि उम्मेदवार बन्ने भएपछि उपनिर्वाचनको अभियानमा मात्रै गाउँ छिरेकी हुन् ।

नेपाली कांग्रेसले भने गौरीशंकर गाउँपालिकाका तत्कालिन उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती पासदिकीलाई उम्मेदवार बनाएर ‘सेन्टिमेन्ट’ को भोट मागिरहेको छ । पासदिकीले आफ्ना श्रीमान्ले अघि सारेका बाँकी योजना पुरा गर्न उम्मेदवार बनेको बताउँदै आएकी छिन् ।

एकअर्काको किल्ला भत्काउने दाउ

गौरीशंकरको उपनिर्वाचनमा ३ राजनीतिक दल मध्ये पनि माओवादी केन्द्र र एमाले वीच मुख्य प्रतिश्पर्धा हुँदैछ । गाउँघरमै बस्ने, चिरपरिचति अनुहारलाई उम्मेदवार बनाएको र स्थानीय सत्ता समेत माओवादीकै नेतृत्वमा भएका कारण जित निकाल्न सहज हुने माओवादीको अनुमान छ । माओवादीले चुनावी परिणाम आफ्नो हातमा पार्नकालागि सवै शक्ति केन्द्रित गरेको छ ।

उपनिर्वाचनको प्रचार अवधिमा माओवादी केन्द्रले एमाले नेता गुरुङको गाउँ सुरी तथा उत्तरी क्षेत्रका वडाहरु चंखु, मार्वु, खारे र गौरीशंकरलाई बढी टार्गेट गरेको छ । माओवादी केन्द्र आफ्नो पकेट क्षेत्रलाई जोगाउँदै एमालेको किल्ला भत्काउने रणनीतिमा छ । गौरीशंकरको वडा नम्बर १, २ र ३ लाई माओवादीको पकेट क्षेत्र मानिन्छ ।

एमाले भने उपनिर्वाचनलाई जसरी पनि जितेर आफ्नो पुरानो बिरासत फर्काउने दाउमा छ । आवश्यक परे आर्थिक चलखेलसम्म गर्ने एमालेको रणनीति छ । सोही कारण पार्टी संगठनमा सक्रिय महिलाहरुलाई टिकट नदिएर आर्थिक हैसियत भएकी उमालाई उम्मेदवार बनाएको एमालेभित्र चर्चा छ । एमालेले माओवादी पकेट क्षेत्र मानिने जुँगु र झँयाकुमा आफ्नो शक्ति केन्द्रित गरेको छ । प्रमुख ३ दलका उम्मेदवारको गृह वडा मार्वुलाई समेत प्रभावित पार्ने एमालेको रणनीति रहेको स्रोतको दावी छ ।

काँग्रेसले के गर्ला ?

नेपाली काँग्रेसले यो उपनिर्वाचनलाई जित हात पार्ने भन्दा पनि संगठन सुदृढिकरण र आफ्नो ‘पोजिसन क्लियर’ गर्ने अवसरकोरुपमा लिएको छ । खासगरी काँग्रेस नेता कुन्दनराज काफ्लेले २०८४ को निर्वाचनको रिहर्सलकालागि यो निर्वाचनलाई उपयोग गर्ने नीति लिएका छन् । उपनिर्वाचनमा बिजयी हात नपर्ने निश्चित भएपनि काँग्रेस चुनावी प्रचारमा सक्रिय छ ।

विगतको चुनाव

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले गौरीशंकर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र बहुसँख्यक वडा अध्यक्ष जितेर बहुमतको कार्यपालिका बनाएको थियो । उक्त निर्वाचनमा जुँगुमा भएको झडपमा एमाले कार्यकर्ता कुलवहादुर तामाङको मृत्यु भएको थियो । वाइसिएल त्यागेर एमाले प्रवेश गरेका कुलवहादुरको मृत्युपछि जिल्ला र स्थानीयस्तरका सहित ४० जना माओवादी नेता, कार्यकर्ता बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको थियो । एकैसाथ धेरै माओवादी नेता, कार्यकर्ताबिरुद्ध मुद्धा दर्ता भएर फरार हुनु परेपछि २०७४ को निर्वाचनमा माओवादी केन्द्र गौरीशंकर सहित जिल्लाका अधिकाँश स्थानीय तहमा पराजित हुन पुगेको थियो ।

यस्तो थियो नतिजा

तर, २०७९ को स्थानीय तहको निर्वाचनमा आउँदा माओवादी केन्द्रले राजनीतिकरुपमै त्यसको बदला लियो । कांग्रेससँग चुनाव तालमेल गरेको माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र ५ वडा अध्यक्षसहित बहुममत जित हाँसिल गर्यो । अध्यक्ष पदमा ४ हजार ७ सय ५१ मतका साथ माओवादी विजयी भएको थियो भने एमालेले ३ हजार ७ सय ५७ मत ल्याएको थियो । माओवादी र एमालेको मतान्तर ९ सय ९४ थियो । उपाध्यक्ष पदमा नेपाली कांग्रेसले ४ हजार ७ सय ४१ मत पाउँदा एमालेले ३ हजार २ सय ८१ मत पाएको थियो ।

स्थानीय तह निर्वाचन २०७९ मा माओवादी केन्द्रले १, २, ३, ७ र ८ गरी ५ वडा वडा अध्यक्ष जित्दा एमाले एउटा मात्रै वडा अर्थात ५ नम्बर वडामा मात्रै जित हात पारेको थियो । कांग्रेसले ४, ६ र ९ नम्बर वडाको वडा अध्यक्ष जितेको थियो । माओवादी केन्द्र र काँग्रेस वीच ४, ५ र ९ नम्बर वडामा चुनावी तालमेल भएपनिmवडा नम्बर १, २, ३, ६, ७ र ८ गरी ६ वटा वडामा त्रिपक्षीय प्रतिश्पर्धा भएको थियो ।

माओवादी र एमाले वीच मुख्य प्रतिश्पर्धा

विगतको मत विश्लेषण गर्दा आसन्न निर्वाचनमा माओवादी केन्द्र र एमाले वीच मुख्य प्रतिश्पर्धा देखिन्छ । संगठनका हिसावले पनि माओवादी र एमालेकै बलियो उपस्थिती छ । स्थानीय सरकार आफ्नो नेतृत्वमा भएको र विकास निर्माणको नेतृत्व आफुहरुले गरेका कारण विगतको भन्दा केही मत बढ्ने माओवादीको आंकलन छ । नेकपा एकीकृत समाजवादीवाट उम्मेदवारी बनेकी रविना खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा श्रेष्ठ एमाले पृष्ठभूमीको भएका कारण उनीहरुले मत काट्दा आफुहरुलाई फाइदा पुग्ने माओवादीको बुझाई छ । माओवादीले ३ सय भन्दा बढी मतले चुनाव जित्ने दावी गरेको छ ।

तर, एमाले माओवादी नेतृत्वको स्थानीय सत्ताभित्रको असन्तुष्टिमा खेलेर चुनाव जित्न चाहन्छ । माओवादी स्थानीय सरकारमा भएका कारण कार्यकर्ता र जनस्तरमा असन्तुष्टि बढेको एमालेको दावी छ । एमालेले ढुलमुले मतलाई प्रभावित पार्ने योजना पनि बनाएको छ । पार्टी भित्रको अन्तरसंघर्ष चिर्नका लागि काठमाडौं जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहेका एमाले पोलिट्व्युरो सदस्य आनन्दप्रसाद पोखरेल समेत मंगलवार मार्वु पुगेका थिए । उनले चुनावी सभालाई सम्वोधन गर्दै आफुहरु वीच विवाद नरहेको बताए ।

एमाले–कांग्रेस मिल्लान् ?

चुनावी माहौल माओवादीको पक्षमा बलियो देखिए पछि एमालेले सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसलाई सहयोगकालागि अनौपचारिक प्रस्ताव गरेको छ । सत्ता गठबन्धनमा रहँदा एमाले, कांग्रेस दुवै पराजित भए नराम्रो म्यासेज जाने भन्दै एमालेले कांग्रेसलाई सहयोगकालागि आग्रह गरेको हो । यद्धपि, एमाले नेताहरुले कांग्रेससँग सहयोगको प्रस्ताव नगरिएको दावी गरेका छन् । माओवादीसँगको प्रतिश्पर्धा स्विकार गर्दै उनीहरुले २ सय बढ भोटले एमालेले चुनाव जित्ने बताएका छन् ।

सुरक्षा व्यवस्था कडा

गौरीशंकरको उपनिर्वाचनमा ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिदै छ । १२ मतदानस्थल र २१ मतदान स्थलमा पनि व्यापकरुपमा प्रहरी परिचालन गरिने छ । एउटा बुथमा असइदेखि प्रहरी निरिक्षकसम्मको नेतृत्वमा कम्तीमा १४ प्रहरी रहने छन् । जिल्ला सुरक्षा समितिका अनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र र तेस्रो घेरामा नेपाली सेना परिचालित हुने छन् ।

विगतको स्थानीय तहको निर्वाचनमा युवकको ज्यानै जाने घटना भएका कारण जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । दोलखाका अलावा बागमती प्रदेश प्रहरी कार्यालयवाट समेत थप सुरक्षा बल दोलखा आउने छ । मतदानस्थल र मतदान केन्द्रमा कडा सुरक्षा हुने भएपनि अन्य स्थानमा हुलहुज्जत गर्ने र मतदातालाई तितरवितर पार्ने हर्कत हुने सम्भावना पनि छ । त्यसलाई लक्षित गरी सुरक्षा गस्ती र पेट्रोलिङलाई पनि बढाइने सुरक्षा निकायले जनाएका छन् ।

लेखक हाम्रो अपडेट अनलाइनका प्रधान सम्पादक हुन् ।