images
images

गौरीशंकरमा बाहिरी मानिसलाई प्रवेशमा रोक, पालिकाभित्र रहेका तत्काल बाहिरिनु पर्ने

दोलखा । आसन्न उपनिर्वाचनलाई लक्षित गरि दोलखाको गौरीशंकर गाउँपालिका प्रवेशमा रोक लगाईएको छ ।

आगामी आईतबार हुने उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु हुने भएकाले गौरीशंकर गाउँपालिका बाहेकका मानिसहरुलाई पालिकाभित्र प्रवेशमा रोक लगाईएको हो । गौरीशंकर गाउँपालिकामा भित्रिने सीमा नाकाहरुबाट पालिका बाहेकका व्यक्तिहरुलाई प्रवेशमा रोक लगाईएको छ भने पालिकाभित्र रहेका व्यक्तिहरुलाई पनि तत्काल बाहिरिन निर्देशन दिईएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आज सूचना जारी गर्दै मध्यारति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि गाउँपालिका बाहेकका व्यक्तिहरुलाई पालिकाभित्र प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको जनाएको हो । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय, मितव्ययी र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य पालिकाका व्यक्तिहरुलाई गौरीशंकर गाउँपालिका प्रवेशमा रोक लगाईएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम गेलालले जानकारी दिनुभयो ।

साथै निर्वाचन प्रचार प्रसार तथा अन्य कार्यका लागि गौरीशंकर गाउँपालिका भित्र भएका सो गाउँपालिका बाहेकका व्यक्तिहरुलाई मौन अवधि सुरु हुनु अगावै पालिकाबाट बाहिरिन आग्रह गरिएको छ । प्रशासन कार्यालयले सूचनालाई अवज्ञा गरी निर्वाचन आचारसंहिता विपरितका कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।