दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले आज गौरीशंकर गाउँपालिका ३ झ्याँकुमा चुनावी सभा गरेको छ ।
यसअघि हिजो गौरीशंकरको जुँगुमा शक्ति प्रदर्शन सहित चुनावी सभा गरेको माओवादी केन्द्रले आज झ्याँकुमा चुनावी सभा गरेको हो । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आज माओवादीले झ्याँकुमा ¥याली सहितको प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित चुनावी सभामा कांग्रेस र एमालेका दुई दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका उपसचिव रिम बहादुर बस्नेत सहित दुई दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गरेका नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् प्रतिनिधिसभा सांसद गंगा कार्की, माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् जिल्ला ईन्चार्ज विशाल खड्का, नेता शंकर लामा, जिल्ला संयोजक कमल श्रेष्ठ लगायत नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै माओवादी नेताहरुले माओवादी केन्द्रमा युवाहरुको आर्कषण बढेकाले पार्टी प्रवेशको लहर चलेको बताएका छन् । नेताहरुले गौरीशंकरको उपनिर्वाचनमा माओवादी केन्द्रलाई जनताको साथ रहेकाले जनताले गोलाकारभित्रको हँसिया हथौडामा अत्याधिक मत दिएर माओवादी उम्मेदवार निमलेकी शेर्पालाई जिताउन अपिल समेत गरेका छन् । गौरीशंकरको उपाध्यक्ष पदका लागि आईतवार उपनिर्वाचन हुँदैछ ।