काठमाडौँ । यार्सागुम्बा भन्दै नक्कली औषधी उत्पादन गर्ने गिरोहमा संलग्न रामेछापका एक सहित तीन जना पक्राउ परेका छन् ।
रामेछापको दोरम्बा गाउँपालिका–२ का ३४ वर्षीय सुजन गौतम, काभू्पलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ का २७ वर्षीय सुजन खडका र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का ४२ वर्षीय डिल्लीप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । गौतम र खड्कालाइ भक्तपुरको गठ्ठाघर र घिमिरेलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको प्रहरीको कन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जनाएको छ ।
उनीहरुले यार्सागुम्बाको नाममा स्वास्थ्यमा प्रतिकुल असर हुने विभिन्न नक्कली औषधी बेचेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुको साथबाट ठुलो मात्रामा औषधीजन्य भनिएका नक्कली सामानहरु बरामद भएको सिआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरुको साथबाट ६५ लाख भन्दा बढिको सामान बरामद भएको छ ।
उनीहरुले हिमाली जडिबुटी भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर प्रति बट्टा २ हजारदेखि २५ सय सम्ममा सो नक्कली औषधी विक्रि गर्ने गरेको पाईएको सिआईबीले जनाएको छ ।