images
images

जनताको सेवा गर्न गाउँवस्तिवाट उठेको उम्मेदवार हुँः निम लेकी शेर्पा, नेकपा माओवादी केन्द्र

  • १३ मंसिर २०८१, बिहीबार २०:४८

दोलखाको गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते उपाध्यक्ष पदकालागि उपनिर्वाचन हुँदैछ । यो निर्वाचनमा राजनीतिक दलका ७ र ९ जना स्वतन्त्र उम्मेदवारसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय सरकारमा सत्ता पक्षमा रहेको नेकपा माओवादी केन्द्रवाट गौरीशंकर–७ मार्वुकी निम लेकी शेर्पा उम्मेदवार बन्नुभएको छ । महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक मेलमिलापकर्ताको भूमिकामा रहेकी शेर्पा उपाध्यक्ष पदको उम्मेदवार बनेपछि सर्वत्र चर्चा छ । हामीले उहाँसँग चुनाव केन्द्रित भएर ११ प्रश्नमा छलफल गरेका छौं । प्रस्तुत छ, हाम्रो अपडेट अनलाइनका सम्पादक सिर्जना थापा खड्काले गरेको यो कुराकानी ।

१. तँपाई गाउँको महिला स्वास्थ्य स्वयंसेवीका हुनुहुन्थ्यो । सामाजिक मेलमिलापकर्ता भएर गाउँघरमै सामाजिक कामममा रमाईरहेकी निम लेकीलाई एकाएक चुनावी मैदानमा उत्रिन किन रहर जाग्यो ?

म हिजो पनि महिला स्वयम सेविका र सामुदायिक मेलमिलापकर्ता भएर मार्वुका जनतालाई सेवा दिईरहेको थिए । मैले सक्ने काम गरिरहेको थिए भने अव चाही गौरीशंकर गाउँपालिकाभरका जनताको सेवा गर्न सकौ भनेर म गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेको हो ।

२. नेकपा माओवादी केन्द्रवाट उपाध्यक्ष पदको उम्मेदवार बन्नुभएको छ । उम्मेदवार बन्नु र उम्मेदवारी दिनु रहर कि बाध्यता ?

रहर र बाध्यता भन्दा पनि यो आवश्यकता हो । पुरुष अध्यक्ष भएको ठाउँमा महिला उपाध्यक्ष हुुनुपर्छ भन्ने संवैधानिक व्यवस्थाका कारण आवश्यकताका आधारमा मेरो उम्मेदवारी हो ।

३. २०७९ सालमा पनि तँपाईलाई पार्टीले गौरीशंकर गाउँपालिका–७ मार्वुमा महिला वडा सदस्यको उम्मेदवार बनाएको थियो । सफल हुन सक्नु भएन । त्यहिवेला रहर पुगेको थिएन र ?

राजनीतिमा लागिसकेपछि एक पटक हार्दैमा रहर पुरा नहुँदो रहेछ । राजनीति भनेको निरन्तर सेवा गर्नुपर्ने क्षेत्र हो । म हिजो हारेर पनि त्याहाँका जनतामाझ हारेको महसुश गरेको थिइँन, जितेको महसुश गरेको थिए । केही प्राविधिक गढवढीका कारण, एउटा घटनाका कारण हामीले हार स्वीकार गरेको हो । तर, मैले हारेको छैन । हिजो पनि निरन्तर राजनीतीमै रहेको मान्छे म निरन्तर लागिरहने छु ।

४. विगतमा वडा सदस्यमा पराजित हुनुभयो, अहिले उपाध्यक्ष पदकालागि चुनावी मैदानमा उत्रिनु भएको छ । वडामा हारेको व्यक्ति पालिका उपाध्यक्षमा चाँही बिजयी हुन सकिएला ?

विजयी हुन्छु । हिजो हारेपनि मैले हार स्वीकार गरेर त्यहाँका जनतालाई जितेकै महसुश गराएको छु । त्यहाँको जनतासँग हरेक कुरामा सल्लाह सुझाव लिने दिने तथा निरन्तर सम्पर्कमा छु । हिजो हारेपनि म गाउँ छाडेर कतै गईँन । यहीँको जनतासँग घुलमिल भएर यहीँको जनतासँग भेटघाट गर्दै सहकार्य गर्दै अघि बढेँ । निरन्तर रुपमा लागिरहेको छु । जनप्रतिनिधि नहुँदा त निरन्तर जनताको सेवामै रहे भने जनतप्रतिनिधि भईसकेपछि झन बढि सेवा दिन सक्छु भन्ने अपेक्षाका कारण जित्छु भन्ने विश्वास छ ।

५. त्यसो भए चुनाव जित्ने तँपाईका आधारहरु चाँहि के के हुन् ?

हिजो पनि मैले स्वास्थ्य स्वयमसेविका र सामुदायिक मेलमिलापकर्ता भएर गाउँमै रहेर सेवा गरिरहेको थिएँ । म निरन्तर सेवामै छु । मैले गाउँको दुःख सुख बुझेको छु, जनतासँग घुलमिल छु । जनतासँग प्रत्यक्ष भेटघाटमा छु । जनप्रतिनिधि भनेको जनताको सेवक हो । त्यसका लागि जनतासँग प्रत्यक्ष सहकार्य आवश्यक पर्दछ । म जनतासँग निरन्तर जोडिएको छु । गौरीशंकरमा हाम्रो पार्टीले ५ वटा वडा जितेको छ । जनप्रतिनिधिमा यसअघि पनि बहुमत छ, त्यसैले जित्छु भन्ने विश्वास छ ।

६. उपाध्यक्ष जस्तो पदमा बिजयी हुनका लागि त निश्चित एजेण्डा चाहिएला नी ? कि पार्टीको भरमा मात्रै हुनुहुन्छ ?

पार्टी पनि बलियो संगठन हो । हाम्रो संगठन त छँदैछ । पार्टी पनि चाहिन्छ । पार्टीको भरमा मात्रै होईन, एजेण्डा छ । पार्टीको आडमा चुनाव लड्नका लागि कहीँ बाहिरबाट आएको पात्र म होईन । म निरन्तर गाउँमै रहेर सेवा दिएको हिसावले यत्तिको मान्छेले जनप्रतिनिधि भएर पनि काम गर्छ है भन्ने जनमानसमा विश्वास छ, भरोसा छ । मलाई जनताले विश्वास गरेको छ, भन्ने लाग्छ ।

  • स्वयमसेविका र सामुदायिक मेलमिलापकर्ता भएर मार्वुका जनतालाई सेवा दिईरहेको थिए । अव चाही गौरीशंकर गाउँपालिकाभरका जनताको सेवा गर्न सकौ भनेर म उम्मेदवार बनेको हो । मलाई खासै चुनौती छ, जस्तो लाग्दैन । किनकी आर्थिकले मात्रै चुनाव जित्ने होईन । अहिलेको जनता सचेत र सक्षम छन् । पैसाको लोभ लालचमा पर्दैनन् भन्ने मेरो विश्वास छ ।

७. एमालेले बलियो आर्थिक हैसियत भएकी व्यवसायीलाई मैदानमा उतारेको छ । कांग्रेसले पूर्व उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमतीलाई उम्मेदवार बनाएको छ । प्रतिश्पर्धा त चुनौतीपूर्ण होला नी ?

यसमा मलाई खासै चुनौती छ, जस्तो लाग्दैन । किनकी आर्थिकले मात्रै चुनाव जित्ने होईन । यो भन्दा अगाडीको चुनावमा पनि हामीले देखेको भोगेकै कुरा हो । अहिलेको जनता सचेत र सक्षम छन् । पैसाको लोभ लालचमा पर्दैनन् भन्ने मेरो विश्वास छ । कुन पार्टीले के काम गरेको छ, कसलाई जिताउँदा काम गर्छ भन्ने बुझेका छन् । कुन व्यक्तिले समाजमा कस्तो काम गरिरहेको छ भन्ने बिषयमा जनता जानकार छन् ।

आर्थिक रुपले बलियो उम्मेदवार भएर मात्रै भएन । पैसाले मात्रै हुँदैन, मुख्य कुरा त जनतासँग घुलमिल हुनुप¥यो । जनतासँग हिजो सहकार्य गरेको हुनुप¥यो । जनतासँग घुलमिल हुनु प¥यो । त्यो गाउँ, ठाउँ र जनतासँग भिजेको हुनुप¥यो । त्यही भएकाले मलाई आर्थिकले मात्रै चुनाव जित्छ, जस्तो लाग्दैन । जनतासँग सहकार्य गरेको उम्मेदवार हुनुपर्छ भन्ने लाग्छ मलाई ।

८. निम लेकी शेर्पाज्यू, तीन ठूला पार्टीले एउटै शेर्पा समुदाय र त्यो पनि एउटै परिवार र नातावाट उम्मेदवार बनाएको छ । चुनावी प्रतिश्पर्धामा उम्मेदवार वीच कस्तो प्रतिश्पर्धा भइरहेको छ ?

प्रतिस्पर्धा छ, प्रतिस्पर्धा हुनुपनि पर्छ । निर्विरोध भन्दा जनताले चुनेको हुनुपर्छ । जनताले कसलाई रोज्छन् त ? भनेर पनि चुनावी मैदानमा प्रतिस्पर्धा भएकै राम्रो हुन्छ । जनताले चाहेको नै राम्रो हुन्छ । जनताको हातमा हुने भएकाले प्रतिस्पर्धा अनिवार्य हुनु पर्दछ ।

९. हुनत, गौरीशंकर गाउँपालिकामा अध्यक्ष र बहुमत वडा अध्यक्षसहितको कार्यपालिका माओवादीको छ । स्थानीय सत्ता र शक्तिको साथले पनि बिजयी हात पार्ने योजनामा हुनुहुन्छ होला, हैन ?

शक्तिको आड र शक्ति नै प्रयोग गर्नुपर्छ भन्ने त, छैन । तर पनि अलि अलि सहयोग त हुन्छ होला नै । तर, शक्तिले मात्रै चुनाव जितिँदैन । त्यो उम्मेदवारमा पनि भर पर्छ । उम्मेदवारको पृष्ठभुमी कस्तो छ, कत्तिको काम गर्न सक्छ । हिजो गाउँमा थियो की थिएन ? जनतासँग चिनजान छ की छैन ? समाजमा साथ सहयोग कत्तिको गरेका छन् । गाउँमा कत्तिको काम गरेको छ ? कत्तिको योगदान दिएको छ ? त्यो कुराहरु पनि हुन्छ । शक्तिको आडले चुनाव जित्छु भन्ने छैन ।

१०. चुनावी प्रचारको क्रममा तँपाई गौरीशंकरका सवै वडा, टोल र बस्तिमा पुगिसक्नु भएको छ । गौरीशंकरमा नेकपा माओवादी केन्द्रको अवस्था र तँपाईले चुनाव जित्ने सम्भावना कत्तिको देख्नुभयो ?

म १ देखि ९ नम्बर वडासम्म चुनावी अभियानमा घरदैलो गर्दै गर्दा कतिपय ठाउँहरुमा स्वास्थ्य स्यमसेवीका र मेलमीलापकर्ताहरु देखि यसअघि सहकार्य गरेका साथीहरुसँग पनि भेटेको छु । उहाँहरुले तपाई चुनावी मैदानमा आउनुभएको छ भनेर खुसि व्यक्त गर्नुभएको छ । १ नम्वर देखि ९ नम्वर सम्मकै जनतामा उत्साह देखे, मैले । उहाँहरुले तपाई जत्तिको मान्छे हाम्रो पालिकामा आवश्यक छ भन्नुहुन्छ । जनमानसमा धेरै नै उत्साह देखेको छु ।

११. अन्त्यमा तँपाई गौरीशंकरवासी र आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

म सम्पूर्ण गौरिशकर गाउँपालिकाबासी बुबाआमा, दाजुभाई तथा दिदिवहिनीहरुलाई के भन्न चान्नछु भने, म हिजो पनि गाउँमै बसेर काम गरेको थिए । आज पनि गाउँमै छुु । म हिजो पार्टीको सङगठ्नको हिसाबले २०६८ सालदेखि नै किय्राशिल सदस्य थिए । वडा हुुँदै पालिकाको कोषाध्यक्ष जस्तो जिम्मेवारी पदमा बसेर मैले पार्टीमा काम गरीरहेको थिए ।

जनतालाई हिजो मेलमीलापकर्ता भएर मेलमिलापको भावना विकास गरेको थिएँ । न्याय दिलाउन सहयोग गरेको थिएँ । न्यायको कुराहरु सानो तिनो विवादहरु मिलाइरहेको थिए । उपाध्यक्षको कार्यक्षेत्रमा त्यो पनि पर्दछ । त्यसका साथै विकासको काममा पारदर्शीता ल्याउने, अनुगमन गर्ने लगाएतका कुरामा पनि योगदान गर्नेछु । बजेट हाल्दैमा विकास हुँदैन । सही ठाउँमा सही ढंगले विकास गर्नका लागि म पारदर्शी रुपमा काम गर्नेछु ।

गाउँपालिकाबासीलाई म के भन्छु भने हिजो पनि तँपाईहरुसँगै थिए । एउटै समुदायमा तँपाईहरुकै समस्या बुझेर बसेको थिए । आज पनि तपाईहरुको समस्या के छ ? महिलाको समस्या के छ ? भन्ने मैले बुझेको छु र जनप्रतिनिधि भईसकेपछि त्यो समस्या समाधानका लागि पहल गर्नेछु । तँपाईहरुकै साथ सहयोग र सल्लाह बमोजिम अघि बढ्ने छु । तसर्थ यो निर्वाचनमा मलाई आफ्नो अमुल्य मतदान गरी सेवा गर्ने अवसर प्रदान गरिदिन हुन सवैमा हार्दिक अनुरोध गर्दछु ।