काठमाडौं । काठमाडौँमा एउटा अनौठो घटना भएको छ । चिया खान आएका एक व्यक्तिले चिया पसलेबाटै २ बर्षीया बालिका टिपेर टाप कसेका छन् ।
रामेछापको मन्थली नगरपालिका–५ घर भएका राज नेपालले गौशालाबाट बालिका लिएर गएका हुन् । उनले काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट दुई वर्षीया बालिकालाई लिएर गएका हुन् । गौशालाबाट दुई वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले रामेछापका उनलाई पक्राउ गरेको छ । आरोपीले पठाओमा चढाएर बालिकालाई भक्तपुरस्थित दधिकोटमा लगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले जानकारी दिनुभयो । यद्धपी बालिकाको सकुशल उद्धार भइसकेको एसपी रेग्मीले बताउनुभयो । सिन्धुपालचोक घर भई हाल भक्तपुरको गोठाटार बस्दै आएकी बालिका पुस १० गते मंगलबार गौशालाबाट अपहरणमा परेकी थिइन् । बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् ।
पीडित परिवारले चिया खान आएकाहरुले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । आरोपीले भने प्रहरीसँग ती बालिका आफ्नै बच्चा भएको र चिया पसलेले लगेर राखेको जिकिर गरेका छन् । प्रहरीले सिसिटिभीको सहायताले अनुसन्धान गरेर उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ । आरोपीविरुद्ध अपहरण तथा शरिरबन्धक सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।










