
काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजेपछि बस्ने बैठक स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलपछि थप छलफल गर्न आज बैठक बोलाइएको हो ।
स्थानीय तहका पदाधिकारीको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकाले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिँदै आएको छ ।तर सत्ता गठबन्धन तिनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ । निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान गरिएको छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।