images
images

दोलखामा श्रृङखलावद्ध चोरीका घटनाः गाउँघरमा त्रास, ६ जना पक्राउ

जिरी (दोलखा) । दोलखामा श्रृङखलाबद्ध चोरीका घटनाहरु भइरहेका छन् । पछिल्लो केहि समययता जिल्लाको विभिन्न स्थानमा श्रृङखलावद्धरुपमा चोरीका घटना भइरहेका हुन् ।

माघ महिनामा लगातार जिल्लाको विभिन्न स्थानमा चोरीका घटनाहरु भइरहेका छन् । केहि समययता दोलखाको विगु, शैलुङ र तामाकोशी गाउँपालिका तथा भीमेश्वर नगरपालिकाको विभिन्न स्थानमा चोरी भएको छ । बैतेश्वर गाउँपालिकामा पनि स्थानीयले चोरीको प्रयास भएको बताएका छन् । पछिल्लो एक साताको अवधिमा जिल्लाको विभिन्न स्थानमा २३ वटा घर र एउटा सहकारीमा चोरी भएको छ । गत माघ १ गते विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुमा एकै दिन १० घरमा र माघ २ गते भीमेश्वर नगरपालिका वडा नम्बर ७, ८ र ९ को ९ घरमा चोरी भएको थियो । यस्तै माघ ५ गते तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा एक घर चोरी भएको दोलखाका प्रहरी निरिक्षक अञ्जन कोइरालाले बताउनुभयो । सो अवधिमा शैलुङ गाउँपालिकामा पनि एउटा सहकारी र दुई वटा घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तामाकोशी गाउँपालिकाको जफेमा स्थानीय ८५ वर्षीय वृद्ध रामबहादुर विकको घरमा माघ ५ गते राती ११ बजेको समयमा रामबहादुर सहित उनकी श्रीमती र नातिलाई कुटपिट गरी मुखमा पट्टी बाँधी कोठामा थुनेर चोरी गरिएको थियो । दोलखामा श्रृङखलावद्ध चोरीका घटना हुन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । चोरी गर्ने व्यक्तिहरुले विशेष गरी घरमा मानिस नभएको मौका छोपेर चोरी गर्ने गरेको र उनीहरुले ती घरहरुमा तोडफोड गरी नगद, गरगहना चोरी गर्ने गरेको पाइएको प्रहरी निरिक्षक कोइरलाको भनाई छ । धनमाल चोरी भएका घरहरुवाट लगत संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दोलखा जिल्लामा समुह नै बनाएर चोरी गरेको आशंका गरिएपनि छुट्टाछुटै व्यक्तिहरुले चोरी गरेको पाईएको हो । दोलखा प्रहरीले चोरी गरेको आरोपमा ६ जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना रामेछापका र बाँकी सवै दोलखा जिल्लाकै रहेका छन् । प्रहरीले प्रक्राउ परेकाहरुको नाम भने खुलाएको छैन । पक्राउ परेका व्यक्तिहरुमाथि चोरी सम्बन्धी मुद्धामा अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक कोइरालाले जानकारी दिनुभयो ।