images
images

दोलखाका नेताको केन्द्रमा प्रतिनिधित्वः केन्द्रीय सदस्यदेखि पोलिट्व्यूरोसम्म

दोलखा । दोलखाका राजनीतिक दलका नेताहरुको पार्टी केन्द्रमा पहुँच बढ्दै गएको छ । जिल्लाका चार प्रमुख राजनीतिक दलका नेताहरुको क्रियाशीलता बढेसँगै केन्द्रमा प्रतिनिधित्व पनि बढ्दै गएको हो ।

एमालेमा तीन पोलिट्व्यूरो सदस्य

पछिल्लो समय दोलखावाट नेकपा एमाले, नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको केन्द्रमा उत्साहजनक प्रतिनिधित्व भएको हो । नेकपा एमालेको १० औँ महाधिबेशनबाट दोलखाका पाँचजना नेता केन्द्रीय सदस्य भएका छन् । तीमध्ये तीनजना नेताले पोलिट्व्यूरो सदस्यको जिम्मेवारी समेत पाएका छन् । गत मंसिर २६ गते भक्तपुरमा सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले ९९ सदस्यीय पोलिटव्युरो गठन गर्दा दोलखाका तीनजना नेता पोलिटव्युरो सदस्यमा समेटिएका थिए । जसअनुसार दोलखाबाट आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ र ईश्वरी रिजाल पोलिटव्युरो सदस्य बनेका छन् । यसअघि तत्कालिन एमालेमा दोलखावाट स्वर्गीय नेता पशुपति चौंलागाई मात्रै पोलिट्व्यूरो सदस्य थिए ।

दोलखा जिल्लाबाट खुलातर्फ पार्वत गुरुङ, खुला महिलातर्फ सरस्वती बस्नेत, भुगोलतर्फ बागमति प्रदेशबाट आनन्द प्रसाद पोखरेल, बागमति प्रदेशबाट महिला कोटामा रचना खड्का र दलिततर्फ ईश्वरी रिजाल केन्द्रिय सदस्य बनेका थिए । पोखरेल, गुरुङ, रिजाल र खड्का यसअघि नै केन्द्रिय सदस्य बनेपनि बस्नेतले भने पहिलो पटक केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी हुन् । एमाले दोलखावाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पाँच नेतामध्ये चार जना मन्त्री समेत बनिसकेका छन् । पोखरेल र गुरुङ संघीय सरकारमा तथा खड्का र बस्नेत बागमती प्रदेश सरकारको मन्त्री बनेका हुन् । नेता गुरुङ संघीय सरकारको दुई दुई वटा मन्त्रालय र सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाउने दोलखाका पहिलो नेता पनि हुन् । पोखरेल संघीय सरकारको पर्यटन मन्त्री, खड्का प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री र बस्नेतले प्रदेश सरकारकै सामाजिक विकास मन्त्री बन्ने अवसर पाएका थिए ।

लामा बने कांग्रेस कार्यसम्पादन समितिको सदस्य

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत दोलखाबाट तीनजना नेता केन्द्रिय सदस्य बनेका छन् । निर्वाचन प्रक्रियामार्फत् तीब्र प्रतिश्पर्धाबाट कांग्रेस दोलाखाका तीनजना नेता केन्द्रिय सदस्य बनेका हुन् । खुल्लातर्फको ३५ केन्द्रिय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएकोमा दोलखाका तीनजना नेता ३५ जनाभित्र परेका हुन् । नेपाली कांग्रेस दोलखाका नेता जिपछिरिङ लामा, कुन्दनराज काफ्ले र अजयबावु शिवाकोटी केन्द्रिय सदस्यमा निर्वाचितभएका छन् । पटक–पटक सांसद समेत भईसकेका लामा कांग्रेस दोलखाका पूराना नेता हुन् भने काफ्ले नेबिसंघको राजनीतिवाट र शिवाकोटी पत्रकारिता पेशावाट राजनीतिमा प्रवेश गरेर पार्टीको केन्द्रीय सदस्य बन्न सफल भएका हुन् । कांग्रेस केन्द्रीय सदस्य काफ्ले कांग्रेसभित्र सम्भावना बोकेका युवा नेता भित्र पर्दछन् ।

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा दोलखाका नेता नेताजिप्छिरिङ लामालाई पनि सदस्यको बनाएको छ । कांग्रेस केन्द्रीय समितिका १३ जना सदस्यकार्यसम्पादन समितिमा समेटिदा लामापनि परेका छन् । दोलखा कांग्रेसको इतिहासमा स्वर्गीय नेता भिमवहादुर तामाङपछि केन्द्रीय कार्यसम्पादन समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउने लामा पहिलो व्यक्ति हुन् ।

माओवादी केन्द्रमा चार केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट दोलखाका चार जना नेताहरु केन्द्रिय सदस्यमा समेटिएका छन् । माओवादी केन्द्र दोलखाका नेता गंगा कार्की, देवी खड्का, मुक्तिनारायण प्रधान र नविन जिरेल केन्द्रिय सदस्य बनेका हुन् । नेतृ खड्का बाबुराम भट्टराई नेतृत्वको सरकारमा भौतिक योजना राज्यमन्त्री समेत बनिसकेकी छन् । जनयुद्धमा कमाण्डर र राजनीतिक कमिसारको भूमिका निर्वाह गरिसकेका कार्की माओवादी दोलखाका संस्थापक नेता हुन् । यस्तै, पूर्व महान्यायधिवक्ता समेत रहेका प्रधानको स्थायी घर दोलखा भएपनि उनले काठमाडौंलाई आधार बनाएर राजनीति गरिरहेका छन् । माओवादी केन्द्रको नयाँ विद्यानअनुसार जनजाति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रका समुदायका ४० बर्ष उमेर ननाघेका युवालाई केन्द्रीय सदस्यमा निर्वाचित गर्ने नयाँ नीति अनुसार नेता जिरेल केन्द्रीय सदस्य बनेका हुन् । उनले दोलखावाट युवा नेताहरुमध्ये पहिलो केन्द्रीय सदस्य बन्ने अवसर पाएका छन् ।

नेकपा माओवादी केन्द्र दोलखाका पाँच संस्थापक मध्येका एक नेता शंकर लामा भने केन्द्रिय सदस्य पदमा परेनन् । जनयुद्ध सुरु हुनु भन्दा अघि नैं चरिकोटस्थित सडक कार्यालयवाट ठूलो परिमाणमा जिलेटिन कव्जा गरेर भूमिगत भएका दोलखाका पाँच नेतामध्ये एक लामालाई केन्द्रीय सदस्य नबनाएपछि अहिले निरन्तर आलोचना भईरहेको छ । नेता लामाले जनयुद्धको क्रममा श्रीमती समेत गुमाएका थिए ।

नेकपा एसको पोलिट्व्यूरोमा भण्डारी

नेकपा एमालेबाट बिभाजित भएर गएको नेकपा एकीकृत समाजवादी दोलखाका नेता शिबप्रसाद भण्डारी नेकपा एसको पोलिटव्युरो सदस्य बनेका छन् । एमाले दोलखाको दुई दुई कार्यकाल पार्टी नेतृत्व गरेका नेता भण्डारी तत्कालिन जिल्ला विकास समितिको उपसभापति पदमा पनि निर्वाचित भएका थिए । एमाले त्यागेर नेकपा एस रोजेसँगै उनलाई पोलिट्व्यूरो सदस्यको जिम्मेवारी दिईएको हो । नेकपा एसबाट खुलातर्फ गोपाल न्यौपाने र महिलातर्फ च्यामाकी चुनु केसी केन्द्रीय सदस्य बनेकी हुन् ।

राप्रपामा प्रभाव जमाउँदै खड्का

मंसिरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिबेशनबाट दोलखाका तीनजना नेता केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । राप्रपाको महाधिबेशनबाट खुल्लातर्फ केन्द्रिय सदस्यमा दोलखाका विजय खड्का, जनजातितर्फ प्रविणकुमार थोकर तमाङ र महिला खुल्लातर्फ मोनिका श्रेष्ठ निर्वाचित भएका हुन् । खड्का यसअघि राप्रपा केन्द्रिय सम्पादन समिति तथा प्रवास विभागको प्रमुखको जिम्मेवारीमा थिए भने तमाङ केन्द्रिय सम्पादन समितिका सदस्य थिए । केन्द्रिय सदस्यमा निर्वाचित श्रेष्ठ राप्रपा दोलखाको साधारण सदस्य थिइन् ।

यसअघि दोलखाका नेताहरु सुन्दरप्रकाश खड्का र सोभित उप्रेती पनि राप्रपाको केन्द्रीय सदस्य थिए । खड्का राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेपनि पराजित भएका थिए ।