images
images

कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रका लागि १२ स्थान प्रस्ताव

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रका लागी १२ स्थान प्रस्ताव गरिएको छ ।

गाउँपालिकाको अस्थायी कार्यालय सुनखानीमा शुक्रबार बसेको गाउँसभामा स्थायी केन्द्रका लागि १२ वटा स्थान प्रस्ताव गरिएको हो । स्थायी केन्द्रका लागि कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ को कटुवाचौर, वडा नम्बर ८ को मेलडाँडा, वडा नम्बर ७ को आहाले र स्याउली बजार, वडा नम्बर ४ कुविन्डे र थलारी, वडा नम्बर ३ को सिंगटी र पोखरे खुरुले, वडा नम्बर ५ को आहालेखेत र वन्देउथली, वडा नम्बर ६ को लेप्टुङ र वडा नम्बर २ बाबरे प्रस्तावित स्थान हुन् ।

यसअघि गाउँपालिकाको स्थायी केन्द्रका लागि सुनखानी र बन्देउथली दुई वटा मात्रै नाम प्रस्तावित हुँदा पनि सहमति जुटेको थिएन । गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष गाउँपालिकाको केन्द्रको विषयमा विभाजित भएका थिए भने माइन्युट च्याताच्यात र जनप्रतिनिधिविच नै हात हालाहालको स्थिति सिर्जना भएको थियो । त्यसपछि स्थायी केन्द्र टुंगो नलगाई अघिल्लो जनप्रतिनिधि विदाई भएका थिए । गत वैशाखमा सम्पन्न निर्वाचनबाट चुनिएर आएका नयाँ जनप्रतिनिधिहरुले पनि गाउँपालिकाको स्थायी केन्द्रका लागि एक दर्जन स्थानको नाम प्रस्ताव गरेका छन् । शुक्रवार बसेको गाउँसभाले पालिकाको स्थायी केन्द्र टुंगो लगाउन खानी तथा भुगर्भविभागबाट प्राविधिक टोली झिकाएर अध्ययन गर्ने अर्मुत निर्णय गरेको छ । त्यसका लागि खानी तथा भुगर्भविभागमा पत्र पठाउने गाउँपालिकाको तयारी छ ।

गाउँपालिकाको अस्थायी कार्यालय सुनखानीमा शुक्रबार बसेको गाउँसभामा स्थायी केन्द्रका लागि १२ वटा स्थान प्रस्ताव गरिएको हो ।यसअघि गाउँपालिकाको स्थायी केन्द्रका लागि सुनखानी र बन्देउथली दुई वटा मात्रै नाम प्रस्तावित हुँदा पनि सहमति जुटेको थिएन । गाउँसभामा एक दर्जन स्थान प्रस्ताव गरेका जनप्रतिनिधिले कहिले गाउँपालिकाको स्थायी केन्द्र टुंगो लगाउँछन् ? त्यो अहिले भन्न सक्ने अवस्था छैन ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले दुई तिहाई बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र टुंगो लगाउनुपर्ने भएकाले पहिले भौगोलिक अवस्थाको अध्ययन गर्न विज्ञ टोली मगाउने निर्णय गरिएको जानकारी दिनुभयो । विज्ञ टोलीले अध्ययन गरिसकेपछि गाउँसभामा पुनः छलफल गरेर प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । यस्तै गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले तत्काल भुगर्भविद सहितको टोली ल्याएर अध्ययन गर्ने र चाँडै गाउँपालिकाको केन्द्र टुंगो लगाउने प्रतिक्रिया दिनुभयो ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गाउँपालिकाको स्थायी केन्द्र तत्काल टुंगो लगाउने बताएपनि पालिकाको केन्द्र सहजै टुंगो लाग्ने देखिएको छैन । केन्द्रका लागि १२ वटा स्थान प्रस्तावित हुनुले तत्काल गाउँपालिकाको केन्द्र टुंगिने छाटकाँट नदेखिएको हो । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएको ९ महिनापछि गाउँपालिकाको केन्द्रको विषयले गाउँसभामा प्रवेश पाएपनि कुनै निर्णय भएको छैन । गाउँसभामा एक दर्जन स्थान प्रस्ताव गरेका जनप्रतिनिधिले कहिले गाउँपालिकाको स्थायी केन्द्र टुंगो लगाउँछन् ? त्यो अहिले भन्न सक्ने अवस्था छैन ।