images
images

ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला, सञ्चालक दोलखाका युवक पक्राउ

  • १५ माघ २०७९, आईतवार १६:१५

जिरी (दोलखा) । ललितपुरमा दोलखाका एक युवकले सञ्चालन गरेको बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ ।

ललितपुर महानगरपालिका १० कुपण्डोलस्थित दोलखाका २७ वर्षीय निरज उप्रेतीले सञ्चालन गरेको नम्कली मदिरा बनाउने कारखाना फेला परेको हो । यहि माघ १३ गते काठमाडौँ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरु उत्पादन गरी कालो बजारी भइरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको विशेष अनुसन्धानको टोलीले कुपण्डोलस्थित दोलखाका उप्रेतीले सञ्चालन गरेको नम्कली मदिरा बनाउने कारखाना फेला परेको थियो । प्रहरीले नक्कली मदिरा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने दोलखाका एक सहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ घर भइ हाल ललितपुरको कुपण्डोल बस्दै आएका २७ वर्षीय उप्रेती, सिन्धुलीको तीन पाटन गाउँपालिका २ का २६ वर्षीय गणेशबहादुर रानामगर र स्याङजाको गल्याङ नगरपालिका ९ का २६ वर्षीय धर्मी गौडेललाई पक्राउ गरेको छ । कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकृत एवम् प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।