images
images

जिरी नगरपालिकाको एघारौ नगरसभा सम्पन्न, दुई विद्येयक पारित

  • १५ माघ २०७९, आईतवार २०:५३

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाको एघारौ नगरसभा सम्पन्न भएको छ ।

जिरी नगरपालिकाले आज एक कार्यक्रमका बीच एघारौ नगरसभा (हिउँदे अधिवेशन) सम्पन्न गरेको हो । नगर सभामा चालु आर्थिक वर्षको हालसम्मको अर्धवार्षिक प्रगति तथा बजेट कार्यान्वयनको समिक्षा गरिएको छ भने नगरमार्फत र वडातहबाट सञ्चालन हुने केही योजनाहरुको बजेट रकमान्तर पनि गरिएको छ ।

यस्तै, नगर सभाबाट दुई वटा विद्येयक पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो । जिरी नगरपालिकाका नगरप्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, ९ वटै वडाका वडाध्यक्षहरु, वडासदस्य तथा कार्यपालिका सदस्यहरु सहितको छलफलबाट नगरसभा मार्फत दुई विद्येयक पारित भएको नगरपालिकाले जनाएको छ । साझेदारी विद्येयक र युवा तथा खेलकुद परिषदको विद्येयक पारित भएको छ । यसैगरी, करारमा कर्मचारी नियुक्ती सम्बन्धी कार्यविधि संशोधन गरिएको छ भने महालेखा कार्यालयको प्रतिवेदनको विषयमा पनि छलफल भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।

नगर सभामा बोल्दै नगरप्रमुख मित्रबहादुर जिरेलले जिरीको विकासका लागि सबै जनप्रतिनिधि एक जुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । नगर सभामा जिरी नगरपालिका वडा नम्बर २, ३ र ८ नम्बर वडा कार्यालय भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने जग्गा दाता, कल्ज ओभर रिजेज संस्था, असलमित्र नामक संस्था र हिमालय लिर्डस संस्थालाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालय तथा वृद्धावृद्धा र बालबालिकालाई सहयोग गरेवापत ती संस्थाहरुलाई सम्मान गरिएको हो ।