images
images

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

  • १६ माघ २०८१, बुधबार ०६:०३

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रमको आयोजन गरी सहिद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १६ गते मनाईने सहिद दिवस प्रजातन्त्र स्थापना एवम् पुर्नस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरी आज देशभर मनाईँदैछ । विसं २०१२ सालदेखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

कठोर र निरङकुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर सहिद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गांलाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि ती चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै देशभर सप्ताहका रुपमा सहीद दिवस मनाउन सुरु गरिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहीद स्मारक लैनचौर पुगी आज ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । सहिद दिवसका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ ।