
काठमाडौं । अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक गरेको छ ।
अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक गरिएको हो । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३ सय ६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठुलो सामूहिक निर्वासनको अभियान सुरु गर्नुभएको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको हो । राष्ट्रपति बनेपछि ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । अमेरिकाबाट फर्काउन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् । यस्तै चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् ।