हेटौँडा । बागमती प्रदेशमा बजेटको विषयमा भएको विवाद समाधान गर्न विशेष समिति गठन गर्न दलहरुबीच सहमति भएसँगै प्रदेशसभाको बैठक बस्ने तयारी गरिएको छ ।
विवाद समाधानका लागि सबै दलहरुको प्रतिनिधित्व हुनेगरी आज एउटा समिति गठन गर्ने सहमति भएपछि प्रदेशसभाको बैठक बस्ने तयारी गरिएको हो । नेपाली कंग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वजमा गठित समितिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपाबाट २/२ जना र हाम्रो नेपाली पार्टीबाट एकजना सांसद सदस्य रहनेछन् । नेमकिपाले भने संसदीय समितिमा बस्न अस्वीकार गरेको नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिलाई विवाद बारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ । समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिनेछ । दलहरुबिच आज भएको छलफलमा समिति गठन गर्ने सहमति भएसँगै प्रदेशसभाको बैठक बस्ने तयारी गरिएको हो । आज बस्ने प्रदेशसभा बैठकले समितिका सदस्यहरु पनि चयन गर्ने छ ।