images
images

जिरीमा उद्घोषण तालिम, २० जना महिला लाभान्वित

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिका वडा नम्बर ५ मा महिलाहरुको क्षमता विकासकालागि आयोजना गरिएको पाँच दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

जिरी नगरपालिका वडा नम्बर ५ को कार्यालयले फागुन १३ गतेदेखि आयोजना गरेको उद्घोषण तथा भाषण कला सम्वन्धि तालिम आज सम्पन्न भएको हो । तालिम समापन समारोहलाई सम्वोधन गर्दैै जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले उद्घोषण कला सवै मानिसकालागि महत्वपूर्ण रहेको भन्दै सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्तै, नगर उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले उद्घोषण कला व्यक्तिको सम्पति सरह भएको उल्लेख गर्दै यो कला सवैले सिक्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले तालिम तालिममा सिमित हुन नहुने भन्दै सिकेको सिप व्यवहारमा लागु गर्नु पर्ने बताउनुभयो । तालिमको आयोजना गर्ने जिरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरवहादुर जिरेलले वडा पालिकाले विगतका वर्षदेखि नैं महिलाको क्षमता विकासका कार्यक्रम गरिरहेको उल्लेख गर्दै उद्घोषण कलाले व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उद्घोषण तथा भाषण कला तालिममा जिरी नगरपालिका–५ का २० जना अगुवा महिलाहरुको सहभागिता रहेको वडासचिव सानुमैया खड्काले जानकारी दिनुभयो । तालिममा कार्यपालिकामा रहेका महिला सदस्य, वडा महिला सदस्य, राजनीतिमा सक्रिय महिलाहरु, बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय महिला तथा वडाका अगुवा महिलाहरुको सहभागिता थियो । तालिममा सामुदायिक रेडियो प्रसारक संघ नेपालका पूर्व केन्द्रीय कोषाध्यक्ष एवँ वरिष्ठ पत्रकार लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष सिर्जना थापा खड्का र जिरी एफएमका स्टेसन मेनेजर सिर्जना गोलेले विषयगत प्रशिक्षण र जिरी एफएमका निर्देशक बलराम खड्काले प्रविधि सम्वन्धि प्रशिक्षण दिनुभएको थियो ।

तालिममा औपचारिक कार्यक्रमको उद्घोषण, सभाध्यक्षको मन्तव्य, स्वागत मन्तव्य, धन्यवाद ज्ञापन तथा विषयवस्तुमा आधारित भएर भाषण गर्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । जिरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरवहादुर जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिममा सहभागी जिरी नगरपालिका कार्यपालिका सदस्य रोमकुमारी समाल, सहभागी सृष्टि न्यौपाने, सुस्मिता अधिकारी, रमिला कार्की लगायतले तालिमको अनुभव वारे बताएका थिए ।