
दोलखा । नेपाली कांग्रेस भिमेश्वर नगर समितीले भीमेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
नगरवासीले तिरेको करबाट विभिन्न शिर्षकमा आफु निकटका कार्यकर्तालाई रकम बाडिरहेको भन्दै नेपाली कांग्रेस नगर समितीले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । नेपाली कांग्रेस भीमेश्वर नगर समितिका सभापति शंकर कार्कीको नेतृत्वमा नगरपालिकाको कार्यालयमा पुगेको टोलीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको छ । निर्वाचनकोे मुखैमा नगर प्रमुख र उपप्रमुखको ठाडो तोक आदेशमा आफु निकटका कार्यकर्तालाई जथाभावी राज्यकोषको रकम बाडिरहेको भन्दै कांग्रेस भिमेश्वर नगर कार्य समितीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।
नेपाल सरकार, प्रदेश र स्थानिय सरकारका सबै निकाय, राजनितिक दल सहित सिंगो मुलुक आसन्न स्थानिय तहको निर्वाचन तयारीमा जुटिरहेका बेला नगरपालिकाले विभिन्न शिर्षकका नाममा राज्य कोषको रकम बाडिरहेको भन्दै समितीले आज नगरपालिकाको कार्यालय घेराउ समेत गरेको छ । समितिले सरकारी ढुकुटीबाट मेयर र उपमेयरको तोक आदेशमा रकम वितरण गर्नु नगरबासीको करबाट जम्मा भएको सरकारी पुँजीको चरम दुरुपयोग र भ्रष्टाचार भएको भन्दै बिरोध जनाएको हो ।
नगर सभापति कार्की नेतृत्वको टोलीले स्थानीय सरकार सञ्चालन सम्बन्धी कानुन तथा ऐनहरुमा कुनै पनि बजेट वा कार्यक्रम बनाउँदा बिनियोजन ऐन जहिले बन्छ त्यही बेला कार्यक्रमका शीर्षक तोकेरै खुलाउनुपर्ने सैद्धान्तिक मान्यता भएपनि आफु अनुकुल तोक आदेशमा रकम बाँड्न शिर्षक नखुलाई बिभिन्न कार्यक्रम राखिएको भन्दै त्यसको भत्सर्ना समेत गरेको छ । कांग्रेश भीमेश्वर नगर कार्यसमितिले नगर प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएका गाडी समेत दल बिशेषका चुनावी अभियानमा प्रयोग भैरहेको भन्दै तत्काल ती साधन कार्यालयमा फर्काउन र दुरुपयोग रोक्न समेत माग गरेको छ ।