भक्तपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सर्तकर्ता अपनाउन अनुरोध गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्लामा सतर्कता अपनाउन भनेको छ ।
यस्तै, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने विवरण उपलब्ध गराएको प्राधिकरणले उल्लेख गरेको छ ।
पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने
विभागका अनुसार उक्त स्थानमा साँझ ५ः४५ बजेदेखि हुरी सुरु भई बिहीबार बिहान ७ः४५ बजेसम्म रहने अनुमान छ । त्यसैगरी, मेघगर्जन र चट्याङ र हावाहुरी र असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना छ ।
हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्ने, घरको झ्यालढोका राम्रोसँग बन्द गर्न प्राधिकरणले सुझाएको छ ।
धेरै ठाउँमा पानी पर्ने
यस्तै, आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि पानी पर्ने देखिन्छ। तर, कोशीका पहाडी भूभागका एक–दुई स्थानमा भने ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।









