images
images

आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमानसँग १०२ रनले पराजित

  • १६ बैशाख २०८३, बुधबार १७:१२

भक्तपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग लज्जास्पद हार बेहोरेको छ ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको हो । ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

त्यसपछि वर्षा नरोकिएपछि डीएल पद्धति अनुसार नेपाल १०२ रनले पराजित भएको हो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ६० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ६२ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

ओमानका लागि कप्तान सिंहको शतक

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले शतक प्रहार गरे ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ४, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिएका छन् ।

नेपालको पहिलो हार

जारी सिरिजमा नेपालले पहिलो हार व्यहोरेको हो भने ओमानले पहिलो जित दर्ता गरेको हो । नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो । ओमान भने पहिलो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो। सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ ।