दोलखा । गणतन्त्र दिवसको अवसरमा दोलखा सदरमुकाम चरिकोटस्थित चरिकोट कारागारमा रहेका २ जना कैदीवन्दीको कैद सजाय मिनाहा भएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका र तामाकोशी गाउँपालिकाका दुई पुरुषको कैद मिनाहा भएको हो । कैद सजाय मिनाहा हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का आशिष थामी र तामाकोशी गाउँपालिका वडा नम्बर ५ का ध्रुवकुमार खड्का रहेका छन् । उनीहरु दुवै जना कर्तव्य ज्यान सम्बन्धी मुद्धामा कारागारमा थिए । ६० प्रतिशत कैद भुक्तान हुन बाँकी रहेका उनीहरुको कैद मिनाहा भएको दोलखा कारागारका जेलर पद्यम केसीले जानकारी दिनुभयो । उनीहरुलाई कारगारबाट आजै रिहा गरिनेछ ।
सरकारले प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा विभिन्न अदालतमा रहेका असल चालचलन भएका कैदीबन्दीहरुको कैद सजाय मिनाहा गर्दै आएको छ । सोहीअनुसार दोलखाबाट पनि ३ जनाको कैद मिनाहा गर्नका लागि सिफारिस गरिएकोमा २ जनाको कैद सजाय छुट भएको हो ।