images
images

सरकारले आजबाट तीन दिन गणतन्त्र दिवस मनाउने

  • १५ जेष्ठ २०८०, सोमबार ०६:४०

काठमाडौं । सरकारले आज १६ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मुुलुकभर मनाउँदैछ ।

संविधानबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्रको दिवसको रुपमा मनाउने गरिएको हो । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ भने सैैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ साल जेठ ८ गते भएको संसद पुनःस्थापना गरेका थिए । सोही आन्दोलन गणतन्त्र स्थापनाको जगको रुपमा स्थापित भएको थियो ।

यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले १६ औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रुपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको हो ।