images
images

गौरीशंकर गाउँपालिकामा एकै पटक वडा कार्यालय, हेल्थपोष्ट र सहकारी तोडफोड

  • १५ जेष्ठ २०८०, सोमबार ०९:२९

जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकामा वडा कार्यालय सहित अन्य कार्यालय तथा विद्यालय तोडफोड भएका छन् ।

गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ मा वडा कार्यालय सहित अन्य कार्यालय तोडफोड भएका हुन् । गएराती गौरीशंकर गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय, जुँगु आधारभुत स्वास्थ्य चौकी, हिमचुली बहुउदेश्यीय सहकारी संस्था, यार्सा प्रावि र चार वटा घर तथा वडा नम्बर २ जुँगुकै आधारभुत स्वास्थ्य चौकी र सेतीदेवी प्रावि तोडफोड भएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो । भरत खड्का, नरबहादुर थापा र दिलिप थापा लगायत चार वटा घरमा तोडफोड भएको छ । जुँगुका वडाध्यक्ष प्रकाश खड्काले वडा कार्यालयबाट राजश्व संकलनबाट उठेको ३ लाख २० हजार नगद चोरी भएको बताउनुभयो । सचिवको काउन्टर तोडफोड गरी सो रकम लगेको उहाँले बताउनुभयो ।

यसैगरी, सेतीदेवी प्राविबाट प्राधानाध्यापकको दराजबाट ८ हजार नगद चोरी भएको बताइएको छ ।
अन्य स्वास्थ्य चौकी, सहकारी र स्थानीयका घरहरुमा घरको ढोका फुटाउने, गेटको ताल्चा फुटाउने लगायतका कार्य गरेपनि नगद चोरी नभएको वडाध्यक्ष खड्काले बताउनुभयो । रातको समयमा ९/१० जनाको समुहले चोरी गरेको पाइएको वडाध्यक्ष खड्काले बताउनुभयो । अहिले घटनास्थलमा दोलखा प्रहरी, इलाका प्रहरी कार्यालय जिरी र मैनापोखरीको प्रहरी टोली खटिएकाले घटनाको मुचुल्का उठाउने काम भइरहेको छ ।