images
images

गणतन्त्र दिवसको अवसरमा चरिकोट कारागारबाट छुटे आठ जना कैदीबन्दी

  • १५ जेष्ठ २०८०, सोमबार १४:०५

दोलखा । चरिकोट कारागारमा रहेका सात जना कैदीबन्दीको कैद सजाय कट्टा भएको छ भने एक जनाले माफि पाएका छन् ।

सरकारले गणतन्त्र दिवसको अवसरमा चरिकोट कारागारमा रहेका सात जनाको कैद कट्टा र एक जनालाई माफि मिनाहा दिएको हो । जसअनुसार डाँका मुद्धामा थुनामा रहेका कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका गणेशप्रसाद पकुवाल, राजनप्रसाद पकुवाल र रमेशप्रसाद पकुवाल थुनामुक्त भएका छन् । दोलखा जिल्ला अदालतले डाँका मुद्धामा तीन वर्ष तीन महिना कैद सजायको फैसला सुनाएपछि कारागारमा रहेका उनीहरुले दुई वर्ष तीन महिना २६ दिन कैद सजाय भुक्तान गरेका थिए । यस्तै डाँका मुद्धामै थुनामा रहेका तामाकोशी गाउँपालिका ३ का रामकृष्ण पोखरेललाई अदालतले ५ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसमध्ये २ वर्ष ८ महिना २१ दिन कैद सजाय भुक्तान गरिसकेका उनको पनि बाँकी कैद कट्टा भएको छ ।

यसैगरी नकबजनी चोरी मुद्धामा थुनामा रहेका दोलखाको मेलुङ गाउँपालिका २ का सुमन कार्कीलाई अदालतले तीन वर्ष कैद सजाय तोकेको थियो । त्यसमध्ये दुई वर्ष चार महिना २० दिन कैद भुक्तान गरीसकेका कार्कीको पनि कैद कट्टा भएको छ । वहुविवाह मुद्धामा कारागार चलान भएका भीमेश्वर नगरपालिका ७ का अर्जुन शाहीलाई ११ महिना १७ दिन कैद सजाय तोकिएकोमा ८ महिना २५ दिन सजाय भुक्तान गरेका थिए भने वहुविवाह मुद्धामै थुनामा रहेका वैतेश्वर गाउँपालिका ४ का रमेश दहाललाई एक वर्ष ६ महिना कैद सजाय तोकिएकोमा ९ महिना १३ दिन कैद सजाय भुक्तान गरिसकेपछि बाँकी कैद कट्टा भएको छ ।

सरकारले ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीवन्दीको बाँकी कैद कट्टा गरेको हो । गणतन्त्र दिवसको अवसरमा बहुविवाह मुदामा थुनामा रहेका कालिञ्चोक गाउँपालिकाका सम्भु शिवाकोटीको सजाय माफि मिनाहा भएको चरिकोट कारागार प्रशासक रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।