images
images

स्याङ्जामा पहिरोमा परी आमा-छोरीको मृत्यु, बाग्लुङमा एक दम्पती वेपत्ता

  • १५ असार २०८१, शनिबार ०८:०८

स्याङजा । स्याङजामा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका–५ मा गएराति आएको बाढीले घर बगाउँदा आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी ३ वर्षीया छोरी निकिसादेवीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । यस्तै छोरा भने छिमेकीको घरमा सुतेकाले जोगिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

यसैबीच, लगातारको पानीले गर्दा बाग्लुङमा एक दम्पती घरसहित पहिरोमा पुरिएर बेपत्ता भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका हुन् । बिसौनाका ४४ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया बसन्ती विक पुरिएको प्रहरीले जनाएको छ । उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा हिजोदेखि लगातार पानी परिरहेको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध भएको छ ।