जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा एक वृद्धा मृत फेला परेकी छन् ।
जिरी नगरपालिका वडा नम्बर ६ तल्लो कोटकी ७१ वर्षीया झुलमाया जिरेल मृत फेला परेकी हुन् । हिजो लिंकनबजार सामान किन्न भनी घरबाट हिँडेकी उनी अबेरसम्म घर नफर्किएपछि स्थानीय र आफन्तले इलाका प्रहरी कार्यालय जिरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले आज विहान खोजीकार्य गर्ने क्रममा उनी मृत भेटिएकी हुन् । उनको शव वडा नम्बर ८ खरायोवन र वडा नम्बर ४ मेक्पाको सिमानामा पर्ने कालोखोला वनस्थित खोला किनारमा फेला परेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो ।
मृतक जिरेल वडा नम्बर ५ स्थित लिंकनबजारको पुल नम्बर २ भन्दा ४ सय मिटर तल रहेको पुल नजिकबाट खोलामा चिप्लिएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले उनको शव पोष्मार्टमको लागि जिरी अस्पतालमा राखिएको छ ।










