images
images

यसरी बचौँ विषादी प्रयोग गरिएका फलफूल र तरकारीबाट

  • १३ श्रावण २०८०, शनिबार १६:४४

मानिसको जीवनलाई मात्र नभई पर्यावरणमा रहेका माटो, हावा, पानीको स्रोत तथा वनयजन्तुलाई समेत विषादीले ठुलो असर गर्छ ।

मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट विरुवामा लागेको किरा मार्न व्यवसायिक खेतीमा विषादी प्रयोग गरिन्छ । आँप लगायत अन्य बेमौसमी फलफुल र तरकारीमा विषादीको अधिक प्रयोग गरिन्छ । विषादीयुक्त फलफुल खाएको केही समयमा मुख चिलाउने र कोक्याउने गर्छ । तत्कालै बान्ता हुने, पेट दुख्ने तथा कालान्तरमा छालाका रोगहरु देखिने, क्यान्सर, ट्युमर तथा नसा सम्बन्धी स्वास्थ्य समस्या देखिन्छ ।
अर्गानीक तरकारी

यस्ता विषादीबाट बच्न हामीले सकभर मौसम अनुसार फल्ने फलफुल र तरकारीको मात्र सेवन गर्नुपर्छ । अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफुल तथा तरकारीहरु सेवन गर्ने बानी बसाल्नुपर्दछ । जसका कारण फलफुल र तरकारीमा पाइने खनिज तत्व भिटामिन शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्ने पोषणबिद्हरुको भनाई छ । विषादी नभएको तरकारी र फलफुलको सेवनले रगतको संरचनालाई मजबुत राखेर हामीलाई दीर्घकालिन रुपमा स्वस्थ राख्न मद्धत पु¥याउँछ । यी खाद्यान्न रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछ । रक्तचाप सन्तुलित गर्न, प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणाली ठिक राख्न, साथै विभिन्न अंगहरुको तन्दुरुस्तीको लागि विषादी नभएको फलफुल र तरकारी महत्वपुर्ण मानिन्छ । तर यिनै फुलफुल र तरकारी विषादीयुक्त हुँदा गर्भवती महिलामा समस्या ल्याउने, बालबालिकाहरु अपांग वा सुस्त मनस्थितिका भएर जन्मिने खतरा बढ्छ ।

बिषादी कम गर्ने तरिका

बजारबाट ल्याएको फलफुल तरकारीलाई राम्ररी धुने, पखाल्ने गर्नुपर्छ । तर धोइपखाली गर्दा समेत विषादी नजाने भएकाले अधिक मात्रामा रहेको विषादी हटाउन भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सकिन्छ । घरको भान्सामा सजिलै उपलब्ध हुने नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ । त्यसपछि नुनपानीमा विषादीयुक्त फलफुल र तरकारी २० मिनेटसम्म डुबाएर राख्न सकिन्छ । यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्धत गर्दछ । त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ ।