काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष सहित नौं जना विरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती विरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन समेतका आधारमा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले उप्रेती सहित नौ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दायर गरेको थियो । दोलखाको नाम्दु घर भएका सहकारी अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, सोही संस्थाका तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे र सदस्य बद्री महत विरुद्ध अभियोगपत्र दायर भएको छ ।
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाल विरुद्ध अभियोगपत्र दायर भएको छ । त्यस्तै मर्जरपछिको संस्थाका सदस्य प्रकाशमान शाही खड्गीलाई समेत विपक्षी बनाइएको छ ।