काठमाडौं । सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख फेरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । यसअघि बागमतीमा यादवचन्द्र शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख रहेका थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट थिए । उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
यसैबीच, मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको हो । आजकै मन्त्रिपरिषद बैठकले चीन, रुस र अष्ट्रेलियाको राजदूत फिर्ता पनि बोलाएको छ । चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए । यसअघि २४ जेठको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।
यस्तै, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका, पूर्वसचिव चन्द्र घिमिरे बेलायत, कृष्णप्रसाद ओली चीन, पूर्वसांसद शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया, डा.नेत्र तिमल्सिना मलेसियाका लागि राजदूत सिफारिस भएका छन् ।