काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाध्रीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाईन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाईमा मध्यभोटेकोशी जलबिद्युत आयोजनाको प्रसारण लाईन अगाडि बढाउने सहमति जुटेको हो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तमाङ, सिन्धुपाल्चोक २ का संघीय सांसद मोहनबहादुर बस्नेत, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाबीच हिजो भएको छलफलमा सहमति जुटेको हो ।
छलफलमा प्रसारण लाईनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरुको उचित क्षतिपूर्ति उपलब्ध गराउने र आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व–सिएसआर अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।
यसैगरी आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने सहमति भएको छ । प्रसारण लाईनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको छ ।