images
images

रामेछापमा पितृ खुसी नभएको घटना प्रकरणमा १२ जना विरुद्ध ज्यान मार्ने सम्बन्धी मुद्धा

  • १३ आश्विन २०७९, बिहीबार ०९:२७

जिरी (दोलखा) । रामेछापमा पितृ खुसी नभएको घटना प्रकरणमा १२ जना विरुद्ध ज्यान मार्ने सम्बन्धी मुद्धा दर्ता भएको छ ।

पितृ खुसी नभएको भन्दै बोक्सीको आरोपमा ७ बोरा भन्दा बढी चामलको अक्षेताले हिर्काएर ५५ वर्षीया बिबी माझीको हत्या आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । मृतकको नाता पर्ने छोरा पदमलाल माझीले कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएसँगै उनीहरू विरुद्ध मुद्धा दर्ता भएको हो । यहि असोज ९ गते खाँडादेवी गाउँपालिका ३ भिरपानीमा गत आइतबार माझीको अक्षेताले निरन्तर हिर्काएर घरभित्र बन्धक बनाएपछि ज्यान गएको थियो । घटनामा संलग्न भएको आरोपमा माझीको गाउँ/टोलका २३ जना पक्राउ परेका थिए । पक्राउ परेका २३ जनामध्य १२ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका (डिएसपी) राजकुमार थिङ्ले जानकारी दिनुभयो ।

अन्य ११ जनालाई भने घटनामा संलग्नता नदेखिएपछि मंगलबार छोडिएको रामेछाप प्रहरीले जनाएको छ । डिएसपी थिङ्कका अनुसार किटानी जाहेरी दर्ता हुनेमा खाँडादेवी गाउँपालिका ३ भिरपानी सित्खाका ३७ वर्षीय शिवबहादुर माझी, ४० वर्षीया राधिका माझी, १७ वर्षीया सपना माझी, १९ वर्षीय भरत माझी र २० वर्षीय सुरज माझी रहेका छन् । यसैगरी, सोही स्थानका १६ वर्षीया सबिना माझी, १९ वर्षीया मनीषा माझी, १६ वर्षीय सिरिस भन्ने रामकुमार माझी, २६ वर्षीय धन बहादुर माझी र १९ वर्षीय राजेश माझी विरुद्ध पनि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको डिएसपी थिङले बताउनुभयो ।

घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेकामध्य १२ जना भने प्रहरीले बोलाएको समयमा कार्यालयमा उपस्थित हुने गरी छुटेको रामेछाप प्रहरीले जनाएको छ ।