images
images

दोलखामा आगामी निर्वाचनका लागि यस्तो छ, राजनीतिक दल र सुरक्षा निकायको तयारी

  • १३ मंसिर २०७९, मंगलवार ०९:४१

जिरी (दोलखा) । दोलखाको १० मतदान केन्द्रमा विहिबार पुनः निर्वाचन हुने भएपछि जिल्लामा निर्वाचनको तयारी तीब्र पारिएको छ ।

दोलखामा आगामी निर्वाचनका लागि राजनीतिक दल, निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सुरक्षा निकाय निर्वाचनको तयारीमा जुटेका छन् । यही मंसिर १५ गते विहिबारका दिन बैतेश्वर र तामाकोशी गाउँपालिकाको ४ मतदानस्थलको १० मतदान केन्द्रमा निर्वाचन हुँदैछ । गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपनि निर्वाचन आयोगले नेकपा एमालेको उजुरीको आधारमा दोलखाको १० मतदान केन्द्रको मतदान रद्ध गरेर रि–इलेक्सनको घोषणा गरेको छ ।

सो स्थानमा पुनः निर्वाचन गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि हिजो विहान मात्रै निर्वाचनको मिति तय भएको थियो । जिल्ला निर्वाचन व्यवस्थापन समितीको हिजो बसेको बैठकले मंसिर १५ गते मतदान गर्ने निर्णय गरेपछि जिल्लाभर पुनः निर्वाचनका लागि चुनावी माहोल बढेको छ ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा विहिबार निर्वाचन हुनेछ । एमालेले बुथ क्याप्चर भएको भन्दै पुनः निर्वाचनको माग गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा उजुरी गरेको थियो । सो उजुरीउपर छानविन गरी आयोगले हिजो पुनः निर्वाचन गराउने मतदानस्थल तोकिदिएको थियो ।

यो सँगै अहिले राजनीतिक दलहरु भेटघाट र लविङमा व्यस्त देखिएका छन् भने राजधानीबाट मतदाता गाउँ ल्याउन लागि परेका छन् । नेपाली कांग्रेसले हिजो विज्ञप्तीनै निकालेर आसन्न निर्वाचनमा सहयोग गरी गठबन्धनलाई जिताउन अपिल गरेको छ । पार्टी सभापति बर्मा लामाद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत कांग्रेसले नेपाली कांग्रेस दोलखाका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, भातृ संस्थाका पदाधिकारी तथा सदस्यहरु, दोलखा–काठमाडौं सम्पर्क समितिका पदाधिकारी र सदस्यहरु र लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्णलाई पुनः निर्वाचन हुने क्षेत्रहरुमा यथाशिघ्र खटेर आ–आफ्नो स्थानबाट निर्वाचनमा सहयोग गरी लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएको छ ।

यसअघि स्वतन्त्र र भयरहित वातावरणमा निष्पक्ष निर्वाचन हुन नसकेको आयोगले ठहर गरेपछि सुरक्षा निकायपनि भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनका लागि त्यसतर्फ केन्द्रित भएका छन् । दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले मतदान हुने केन्द्रहरुलाई सुरक्षा दिन प्रहरी टोली खटाउन थालिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दोलखाले करिब ६ सय सुरक्षाकर्मी ४ मतदानस्थलको १० मतदान केन्द्रमा खटाउने तयारी गरेको जनाएको छ । साथै, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत आफ्नो टोली परिचालन गर्नेछन् । जिल्लाका सुरक्षाकर्मीले नपुगेमा आवश्यक सुरक्षाकर्मी बाहिरबाट मगाइने योजना रहेको जिल्ला प्रहरी कार्यालयको तयारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि निर्वाचनका लागि आवश्यक मतपत्र लगायतका सामाग्री जिल्ला आइपुगेको जनाएको छ । ४४ हजार मतपत्र हिजो जिल्ला आइपुगेको हो ।