जिरी (दोलखा) । रसियन सेनामा रहेका दोलखाको मेलुङ गाउँपालिकाका राजकुमार रोकाको मृत्युको कारण अझै खुलेको छैन ।
दुई महिना अघि रुस गएर रसियन सेनामा भर्ना भई मृत्यु भएका मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राजकुमार रोका सहित तीन जनाको मृत्युको कारण अझै खुल्न नसकेको हो । उनीहरुको गत कात्र्तिक २९ गते तिहारको भाई टिकाको दिन रुसमा रोका सहित स्याङ्जाका प्रितम कार्की र इलामका गंगाराज मोक्तानको मृत्यु भएको खबर भर्खरै प्राप्त भएको छ । रसियन सेनामा रहेका उनीहरुको मृत्युको ठोस कारण भने खुलाइएको छैन । सेनामा भर्ती भएर तालिममा रहेको बताइरहेकै क्रममा मृत्युको खबर प्राप्त भएको राजकुमार रोकाको परिवारजनले बताएका छन् । तर, के कारणले मृत्यु भएको हो भन्नेबारे केही नखुलेको राजकुमारका दाजु सुमन रोकाले बताउनुभयो । मृत्यु भएको दुई सातापछि रुसी सेनाले मस्कोस्थित नेपाली राजदूतावासलाई खबर दिएसँगै परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धीत वडामा र वडाले सोमबार मात्रै परिवारजनलाई जानकारी दिएको छ । दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागलाई भने मंसिर ८ मै चिठी पठाएर जानकारी गराएको थियो । नेपाली दूतावासले उनीहरूको मृत्यु कुन अवस्थामा भएको भन्ने खुलाएको छैन । परराष्ट्रमन्त्री एनपी साउदले घटनाबारे नेपालस्थित रुसी दूतावास र रुसस्थित नेपाली दूतावासबाट सूचना प्राप्त गर्ने क्रममा रहेको बताउनुभयो ।
२०७८ सालमा रुसले युक्रेनमाथि हमला गरेपछि द्वन्द्व जारी रहेकै बेला गत साउन १६ गते परराष्ट्र मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी रुसी सेनामा भर्ती नहुन आफ्ना नागरिकलाई आह्वान गरेको थियो । त्यसको चार महिनामै नेपालीको मृत्युको खबर आएको हो । हालसम्म रुस र युक्रेनका पाँच लाखभन्दा बढी सैनिक युद्धका क्रममा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीन जना नेपालीहरुको पनि भिडन्तमा परेरै मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।